बहुबिहे गर्ने महिलालाई पनि सजाय हुनुपर्ने माग दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मुलुकी संहितामा रहेको बहुविवाहसम्बन्धी प्रावधानमा बहुबिहे गर्ने पुरुषलाई मात्र सजाय तोकिएको भन्दै यो कानुन एकपक्षीय भएको रिट दायरकर्ता अधिवक्ता अनुभट्टराईको जिकिर छ ।

रिटमा उनले बहुविवाहसम्बन्धी कानुन पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागू हुनुपर्ने रिटमा माग गरेकी छिन् । सोमबार दर्ता भएको रिटमा प्रारम्भिक सुनुवाइका लागि मंगलबारको पेसी तोकिएको छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेकी हुन् ।
भट्टराईले रिटमा भनेकी छिन्,‘पुरुषहरूले सहजै रूपमा दोस्रो विवाह गर्न नसक्ने उत्कृष्ट कानुन भएता पनि विवाहित महिलाहरूले सहजै रूपमा अविवाहित पुरुषसँग विवाह गर्न सक्ने स्थिति हाल नेपालमा रहेको छ । परिणाम स्वरुप नेपालमा महिलाहरूले यस असमान कानुनको भरपुर फाइदा उठाई पहिलो श्रीमानसँग डिभोर्स नै नगरी दोस्रो विवाह गरिरहेको पाइन्छ ।’


रिटमा महिलालाई बहुविवाह गर्न कानुनले नै छुट दिएको भन्दै यस्तो प्रावधान सच्याउनुपर्ने जिकिर गरिएको छ ।
अधिवक्ता भट्टराईले यसअघि ‘लिभिङ टुगेदर’ लाई वैधानिकता दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् ।

नेपाल कर्म । १८ असार २०८१, मंगलवार १२:११