सुर्खेत । नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरणमा विधि, विधान र प्रक्रिया पालना नगरेको भन्दै नेपाली काँग्रेस पार्टी आबद्ध नेपाल प्रेस युनियनले केन्द्रसहित सबै जिल्लामा आज धर्ना दिएको छ ।

महासंघले निर्वाचन प्रक्रियाका लागि सदस्यता सार्वजनिक गरेकोमा क्रियाशिल पत्रकारहरुले समेत नचिन्ने गरी गैर पत्रकारलाई महासंघको सदस्यता वितरण गरिएको भन्दै नेपाल प्रेस युनियनले केन्द्रीय कार्यलयसहित देशैभरका कार्यलयमा ताला लगाएर आन्दोलन शुरु गरेको हो ।


‘आफैुले निर्वाचित गरेका प्रेस युनियनका तर्फबाट नेपाल पत्रकार महासंघको नेतृत्वमा रहेका आफ्ना पदाधिकारी विरुद्ध आफैले धर्ना, विरोध कार्यक्रम राखेको सम्भवतः यो नै पहिलो पटक होला,’ प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन विसीले भने ।
विधि र प्रक्रिया विपरित सार्वजनिक गरिएको नामावली खारेज गर्नुपर्ने तथा जिल्ला र प्रदेशबाट सिफारिस गरेका एवं योग्यता पुगी आवेदन दिएका सदस्यको सदस्यता कायम गर्नुपर्ने साथै नविकरण छुटेका र मापदण्ड पुगेका पत्रकारको नविकरण नभएसम्म आन्दोलन जारी रहने युनियन सुर्खेतका अध्यक्ष विसीले जानकारी दिए ।

नेपाल कर्म । १८ असार २०८१, मंगलवार १०:३०