नेकपा एसको महाधिवेशनः खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन, विद्युतीय मेसिनबाट मतदान

नेकपा (एकीकृत समाजवादी) को जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ ।



पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेजमाथि छलफल गरिने जानकारी दिइन् । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।

एकीकृत समाजवादीको नेतृत्व चयनका लागि हुने मतदान विद्युतीय मेसिनबाट हुने भएको छ । त्यसका लागि डेमोसमेत प्रस्तुत भएको छ ।

बन्दसत्र सञ्चालनका लागि नेकपा एसले सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गरिएको छ । त्यस्तै उपमहासचिव जगन्नाथ खतिवडाको संयोजकत्वमा १५ सदस्यीय बहस नोट कमिटी पनि गठन गरिएको छ । माइन्युट लेखनको जिम्मा भने गंगालाल तुलाधर र विजय पौडेलले पाएका छन् ।

तपाईको प्रतिक्रिया