कर्णालीका अर्थमन्त्री केसीलाई काँग्रेसले तानातान गरेपछि…

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीमाथि नेपाली कांग्रेसका सांसदहरुले अमर्यादित व्यवहार गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको सोह्रौं बैठकमा कांग्रेस सांसदहरुले मन्त्री केसीलाई रोस्टममा जानबाट रोक लगाउने प्रयास गरेका हुन् ।



प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिन रोस्टमतर्फ प्रवेश गर्न लागेका मन्त्री केसीमाथि कांग्रेस सांसदले हात हालेका हुन् ।

केही बेर मन्त्री केसी र कांग्रेस सांसद बिच तानातान भएको थियो । कांग्रेस सांसदले मन्त्री केसीलाई समातेपछि छुट्याउन गएका सत्ता पक्षका सांसदहरु बिचसमेत धकेलाधकेल भएको थियो

। केही बेर चलेको घम्साघम्सीपछि रोस्टममा पुगेका मन्त्री केसीले बजेट माथि उठेका प्रश्नको जवाफ यसअघि नै दिइसकेको बताएर बिदा भएका थिए ।  मन्त्री केसीको जवाफ लगत्तै सभामुख नन्दा गुरुङ्गले अर्को बैठक असार १७ गतेका लागि स्थगित गरिएको जानकारी गराउँदै सभा अन्त्य भएको घोषणा गरिन ।

कांग्रेस सांसद बेदराज सिंहले सरकारले प्रतिपक्षका माग सम्बोधन नगरेर जबरजस्त अघि बढ्न खोजेको आरोप लगाए । बजेटमाथि उठेका विषयहरूको समाधान नहुँदै जबरजस्ती तरिकाले सदन चलाएको उनले आरोप लगाए ।

तपाईको प्रतिक्रिया