वर्षासँगै सुदूरपश्चिममा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बैतडी सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्। सन् २०२४ को जनवरीदेखि हालसम्म यहाँ चारसय नौ जनामा स्क्रब टाइफस र एकसय १६ जनामा डेङ्गु संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ।




निर्देशनालयको तथ्यांकअनुसार प्रदेशकै सबैभन्दा बढी स्क्रब टाइफसका बिरामी डडेल्धुरामा एकसय ९१ जना रहेका छन्। यस्तै कैलालीमा ८२,अछाममा ४७,दार्चुलामा ३२,डोटीमा २५,कञ्चनपुरमा १७, बैतडीमा ७,बझाङमा ७ र बाजुरामा एकजना संक्रमित रहेका छन्।

यसका साथै डेङ्गु संक्रमण डोटीमा २७,कञ्चनपुरमा २६,अछाममा २३,कैलालीमा १९,बाजुरामा १२,बझाङमा ५,दार्चुला ३,डडेल्धुरा एकजनामा देखा परेको छ।

वर्षात शुरु भएसँगै डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै जान थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए।

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। उनले भने, “वर्षा सुरु भएसंगै पहाडका साथै तराईमा पनि सङ्क्रमणको जोखिम बढेको छ। तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे कम देखिएका थिए अब पानी परेर लामखुट्टे बढ्ने र सङ्क्रमणको जोखिम उच्च हुनेछ।”

पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए।

बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिहरुको परीक्षण गर्दा डेङ्गु र स्क्रब टाइफस देखा पर्ने गरेको हो। परीक्षण नगराएका व्यक्तिहरुमा समेत डेङ्गु र स्क्रब टाइफसको संक्रमण हुन सक्ने भएकोले सावधानी अपनाउन आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए।

वर्षा शुरु भएसँगै पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ। उनले भने,“ तराईका साथै पहाडमा पनि डेङ्गु र स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ,वर्षातको समयमा विषेश ख्याल गर्नुपर्छ।”

वर्षातको समयमा किर्नालगायतका किराहरूले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामीहरू पनि देखिने गरेका हुन्। पशुचौपायाहरु घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको र स्क्रब टाइफसले ज्यानै लिन सक्छ।

माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्। साथै एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ। मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।

डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमित बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए।

यसैबीच डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि सचेतनामूलक र सरसफाइ अभियान पनि सञ्चालन गरिएको छ।

तपाईको प्रतिक्रिया