राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले राजनीतिक दलका नेता र जनताको प्राथमिकतमा फरक भएको टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादीको १० औं महाधिवेशनमा सम्बोधन गर्दै लामिछानेले जनता र नेताका प्राथमिकताका फरक परेको भन्दै अबका दिनमा सर्वदलीय बैठक बसेर प्राथमिकता तय गर्न आग्रह गरेका छन् ।

नेताहरु लोकतन्त्रलाई खतरामा परेको भन्दै चिन्ता गर्ने तर जनताका चाहना र आवश्यकताबारे चिन्ता नगरेको आरोप पनि लगाएका छन् । लामिछाने लोकतन्त्र खतरामा परे जनताले बचाउने दाबी गरेका छन् । उनले भने, ‘अब लोकतन्त्रको चिन्ता नेतृत्वले गर्नुपर्दैन, जनताले जोगाउँछन्, बरु जनताले चाहेअनुसार विषम आर्थिक परिस्थिति, रोजगारी, कृषि, विदेश पलायनलगायतका विषयमा सहमति जुटाउनुपर्नेछ ।’

उनले मुलुकलाई कसले अफठ्यारो पारेको हो ? जनता, मजदुर र श्रमिकले बनाएको हो ? भन्दै प्रश्न गरेका छन् । लामिछानेले भने, ‘के आजसम्म नेतृत्वले विश्विद्यालय बनाउन सर्वदलीय बैठक भएको छ ? वा स्वास्थ्य सेवा जनताले पाएनन् भनेर सर्वदलीय बैठक बसेको छ ? छैन । भूइँको मान्छेले चाहेको जस्तो पाएको छैन । हाम्रो राजनीतिक सहमतिले भूइँ तहले महसुस गरेको छैन ।’
लामिछानेले शुभकामना दिन नेताहरु एकठाउँ उभिन सक्छौँ भने जनताको चाहनामा एकठाउँमा किन उभिन सकिँदैन रु भनेर प्रश्न पनि गरेका छन् ।

नेपाल कर्म । १६ असार २०८१, आईतवार १६:०१