सुर्खेत । मौलिक बाजा भेसभुसा सामग्रीसहितको कर्णाली सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालित ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ले चार बुँदे घोषणापत्र जारी गर्दै कर्णालीमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने घोषण गरेको हो ।

उक्त घोषणापत्रमा कर्णाली क्षेत्रलाई विषयवस्तु बनाएर लेखिएका पुस्तक सङ्कलन गरी पुस्तकालय निर्माण गरिने लगायतका विषयवस्तुहरू पनि समेटिएको छ । जसमा कर्णाली प्रज्ञा प्रतिष्ठानको निर्माणको लागि निरन्तर पहल, बहस र पैरवी गर्ने र स्थानीय मौलिक पाठ्यक्रम तयार गर्न सम्बन्धित जिल्ला शाखाले आफ्ना जिल्लाका स्थानीय तहसँग अन्तरक्रिया छलफल र समन्वय गरिने घोषण पत्रमा उल्लेख गरिएको छ ।


सम्मेलनमा कर्णालीका ८ वटा जिल्लाबाट सहभागी जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रीता थापा, उपाध्यक्ष कृष्ण रेउले, सचिव उत्तम शर्मा, केन्द्रीय सदस्य राजु केसी, खड्क चन्दले प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा पहिलो पटक ‘कर्णाली सांस्कृतिक सम्मेलन’ भएको थियो । दुई दिनसम्म चलेको सम्मेलनले ४ बुँदे घोषणा पत्र पारित गरी सम्पन्न भएको छ ।

नेपाल कर्म । १६ असार २०८१, आईतवार ११:०९