तीन घण्टा कुराएर बालेन आएनन्, फेसबुकबाटै नगरसभा बैठक स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बस्दै नबसी स्थगित भएको छ ।



आज विहान ८ बजे बोलाइएको नगरसभाको बैठक बस्न नसकेको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो। तर बैठकमा मेयर बालेन शाह नै नआएको काठमाडौं महानगरपालिका १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए ।

उनले नेपालप्रेससँग भने,‘ हामीलाई आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने विषयमा छलफल गर्न बिहान ८ बजे बोलाइएको थियो ।तर मेयर साहलाई तीन घण्टा कुर्दा पनि आउनुभएन । पछि त बैठक स्थगित रे भनेर खबर आयो । त्यसपछि हामी फर्कियौ‌ ।’

उनले मेयर शाहले फेसबुकमा स्टाटस राखेर नगरसभा स्थगित गरेको भनेर खबर पाएको बताए ।मेयर शाहले नगरसभा सदस्यहरुसँग बैठकमा फेस नै नगरी नगरसभा स्थगित गरेको आरोप लगाए ।

तर, काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बैठकमा छलफल गर्न तयारी नपुगेकाले नगरसभा स्थगित गरिएको बताए ।

उनले नेपालप्रेससँग भने, ‘नगरसभाको बैठक आज बोलाइएको थियो । तर नीति तथा कार्यक्रमको प्रतिवेदनमाथि तयारी नपुगेकाले बैठक स्थगित गरिएको हो ।’

अब अर्को बैठक मेयर शाहले कहिले अनुकुल हुन्छ त्यतिबेला बोलाउने उनले बताए । तर मेयर बालेनले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस–एमालेले बैठक रोकेको आरोप लगाएका छन् ।

एमाले–कांग्रेसले बीपि कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भनेर माग राखेको तर आफूले चार स्वतन्त्र सेनानी शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको नाममा गरौं भनेको उल्लेख गरेका छन् ।

कांग्रेस–एमालेलाई नेपालको क्रान्तिमा चार सहिदहरुभन्दा धेरै कांग्रेस–एमालेका नेताहरूको योगदान धेरै देखेर आज बस्ने नगरसभा बैठक रोकेर गएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया