दह गाउँमा पुगेर प्रचण्डले गर्नेछन कुल शिरोमणिको शालिक अनावरण

सुर्खेत । दह गाउँमा पुगेर कुलशिरोमणि दाशुको शालिक अनावरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैलेख जान लागेका छन् । वत्सगोत्रीय दाहाल, लम्साल, रुपाखेती, कुँवर र राणाको आदिपुरुषका रुपमा प्रख्यात दाशुको पहिलो शालिक दैलेखको दहमा राख्न लागिएको हो । शालिक अनावरण गर्न प्रधानमन्त्री बुधबार दिउँसो दैलेख पुग्ने कार्यतालिका छ ।



कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले आफ्नो जातीहरुको उत्पतिस्थलमा पहिलो पटक शालिक राख्न लागेको छ । दह गाउँ दाशु सन्ततिहरु दाहाल, लम्साल, रुपाखेती, कुँबर तथा राणाहरुको आदीभूमि हो । कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्णकदको प्रतिमा (शालिक) स्थापना गरिएको दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानका सल्लाहकार गंगाराम दाहालले बताए । उनका अुनसार कुल शिरोमणि दाशुको प्रतिमा स्थापना गरिएको र प्रधानमन्त्री दाहालको प्रमुख आतिथ्यतामा प्रतिमा अनावरण गर्ने कार्यक्रम छ ।

प्रतिमाको शोभायात्रा जेठ २५ गते काठमाडौंबाट देवघाट, नारायघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ्ग, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पु¥याईएको थियो । दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तिर्थस्थल र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्य राखिएको प्रतिष्ठानका सल्लाहकार दाहालले बताए ।

प्रतिमा स्थापनाका लागि दह गाउँका कविप्रसाद दाहालले जग्गा उपलब्ध गराएका छन् । स्थानीय स्तरमा प्रतिमा निर्माण तथा संरक्षण समिति समेत गठन भएको प्रतिष्ठानले जनाएको छ । दैलेखमा स्थानीय स्तर प्रतिमा निर्माण र सम्बद्र्धन समितिको अध्यक्ष चन्द्रबहादुर दाहाललाई चयन गरिएको थियो । प्रतिष्ठानले दह गाउँको भैरव मन्दिर नजिकै पूर्णकदको प्रतिमा (शालिक) दाशु तीर्थस्थद निर्माणको लागि झापाका किशोरकुमार दाहालको संयोजकत्वमा पाँच सदस्यीय विशेष कार्यदल समेत बनाएको थियो ।

तपाईको प्रतिक्रिया