सुडानमा भोकमरीलाई हतियार बनाइँदैछ : विज्ञ

काठमाडौं । संयुक्त राष्ट्रसंघका विज्ञले सुडानको क्रुर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई हतियारका रूपमा प्रयोग गरिरहेका बताएका छन् । उनीहरूले दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा सहयोगी भएको आरोप लगाएका छन् ।



‘एसएएफ र आरएसएफ दुवैले खानालाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् र नागरिकलाई भोकै मारिरहेका छन्’, खाद्य अधिकारसम्बन्धी विशेष प्रतिवेदनसहित विज्ञले भने । उनीहरूले ‘द्वन्द्वमा दुवै पक्षलाई आर्थिक र सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू भोकमरी, मानवताविरुद्धको अपराध र युद्ध अपराधमा संलग्न रहेको’ बताए। अन्तर्राष्ट्रिय समुदायसँग ‘मानवीय कार्यलाई तीव्रता दिन’ पनि उनीहरूले आग्रह गरेका छन् ।

सेना प्रमुख अब्देल फताह अल–बुर्हानको नेतृत्वमा रहेको नियमित सेना (एसएएफ) र उनका पूर्वसहायक मोहम्मद हमदान डागलोको नेतृत्वमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच एक वर्षभन्दा बढीदेखि युद्ध जारी छ । सन् २०२३ अप्रिलमा सुरु भएको द्वन्द्वले दशौँ हजारको मृत्यु भएको छ । चार स्वतन्त्र संयुक्त राष्ट्र अधिकार विज्ञहरूले दुई करोड ५० लाखभन्दा बढी नागरिक भोकाएका र तत्काल सहायताको आवश्यकता रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया