वीरेन्द्रनगरले पारित गर्याे बजेट

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । १५ औं नगर सभामा सोमबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेट बुधबार पारित गरेको हो ।



नगर प्रमुख मोहनमाया ढकाल नीति तथा कार्यक्रम र नगर उपप्रमुख निलकण्ठ खनालले बजेट सार्वजनिक गरेका थिए ।सदस्यहरुले मुख्यगरी योजना राम्रा आएपनि कार्यान्वयनमुखी बनाउनु पर्ने र नगरबासीका विद्यमान देखिएका मुख्य समस्याहरुलाई सम्बोन्धन गर्नुपर्ने टिप्पणि गरेका थिए । नगर सभामा सदस्यहरुले उठाएका विषयगत प्रश्नको समितिका सभापतिहरुले जवाफ दिएका थिए ।

नगरपालिकाले ल्याएको विनियोजन विधेयक, आर्थिक विधेयक, नगर खेलकुद विकास विधेयक र संगठन तथा व्यवस्थापन प्रतिवेदन पारित गरेको प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

नगर भित्रका आधारभूत आवश्यकतामा केन्द्रीत नीतिलाई बजेटले सम्बोन्धन गरेको छ । मुख्यगरी उपत्यकाको खानेपानी संकट टार्ने दीर्घकालिन योजना, हरित नगर, पार्किङ व्यवस्थापन, कृषिमा उद्यमी, पर्यटकीय क्षेत्रको व्यवस्थापन लगायतका विविध योजनाहरुलाई नगरपालिकाले अघि सारेको छ ।

३ अर्ब ५९ करोड बजेट ल्याएको नगरपालिकाले मंगलगढीमा आकोश पुलदेखि चोक सुधार कार्यक्रम र नगर बस सञ्चालन गर्नेसम्मका योजनालाई समेटेको छ ।

वीरेन्द्रनगरले कृषि विकासमा ५६ लाख ५० हजार, पशुपन्छी विकासमा ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हितमा ६१ लाख ५० हजार र जनस्वास्थ्य प्रवर्धन तथा नगर अस्पतालमा ४ करोड ५ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।

महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग लगायत अन्य लक्षित वर्गमा १ करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदमा ७ करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापनमा २ करोड ६४ लाख २० हजार, सार्वजनिक सेवा तथा सुशासनमा २ करोड १७ लाख ४५ हजार र नगर स्तरीय विविध पूर्वाधार विकासमा २५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरिएकाे छ ।

तपाईको प्रतिक्रिया