भित्रिदै मनसुन, पश्चिम नेपालमा तत्काल पानी नपर्ने

सुर्खेत । याे वर्षकाे मनसुन बुधबार र बिहीबारबाट नेपाल प्रवेश गर्न लागेकाे छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष एकदुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिन लागेकाे बताएको हाे । सरदर जुन १३ गते नेपालमा मनसुन भित्रिने गर्छ । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू-भाग, बंगलादेश र भुटानसम्म आइपुगेको पुगेको छ। तर पूर्वी नेपालमा मनसुन प्रवेश गरेपनि पश्चिम नेपालसम्म पुग्न भने केही समय लाग्ने देखिएकाे छ ।



विभागको पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानले कोसी प्रदेशमा मनसुन भित्रिन अझै केही दिन लाग्न बताए ।

‘नेपालको पूर्वी भू-भागबाट मनसुन भित्रिने गर्छ । बुधबार/बिहाबारदेखि नेपालमा मनसुन भित्रिन सक्छ,’ मौसविद् लामिछानेले भने । विभागले जुन १३ देखि अक्टोबर २ सम्मको अवधिलाई मनसुन मान्ने गर्छ ।

मौसमविद् लामिछानेका अनुसार आइतबार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने बताए । ती प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए ।

मौसम विज्ञान विभागले नेपालको मध्य तथा पश्चिमी क्षेत्रहरूमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको छ ।

यस्तै , मध्य तथा पश्चिम तराईका भू-भागमा लगातार अधिकतम तापक्रम चालीस डिग्री सेल्सियसभन्दा बढी मापन भएको जनाउँदै केही दिनसम्मका सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ ।

विभागले वाग्मती प्रदेशको तराईका भू-भाग र मधेश प्रदेशको पश्चिमी भू-भागमा थोरै तापक्रम घट्ने जनाएको पनि अत्याधिक गर्मीको सम्भावना यथावत् रहने उल्लेख गरेको छ ।

 ती भू-भागहरूमा जेठ ३० गते देखि असार १ गतेसम्म तातो हावा तथा लू को सम्भावना यथावत् रहने विभागले जनाउँदै आवश्यक सतर्कता अपनाउन पनि अपिल गरेको छ ।

विभागका अनुसार मधेश प्रदेशको पूर्वी भू-भागमा तापक्रम केही घट्ने सम्भावना देखिए तापनि गर्मीको सम्भावना रहने जनाएको छ । यस्तै पश्चिमी पहाडी भू-भागका उपत्यका तथा खो‌चहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया