सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका महिलाहरुका लागि मेयरसँग महिला कार्यक्रम लागू गरेको छ । कार्यक्रमको उदेश्य परम्परागत रुपमा खेती गर्दै आएका महिला कृषकलाई आधुनिकरण सीप सिकाएर व्यवसायीक बनाउनु हो ।

नगरपालिकाले महिलाहरुकै लागि भनेर कृषि क्षेत्रमा होमिन चाहने र लागिरहेकाहरुलाई विभिन्न कृषि उपकरण, विउ जस्ता सामग्रीहरु प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले हाते ट्याक्टरदेखि मल, विउ, टनेल, डिप बोरिङ जस्ता उपकरण र सामग्री वितरण गरेको छ ।
नगरपालिका र कृषकको ५०/५० प्रतिशत अनुदानमा ति कृषि सामग्री र उपकरण वितरण गरिएको छ । तरकारी उत्पादनका लागि लगिएका टनेलहरुको अवस्था बुझ्न मंगलबार वीरेन्द्रनगरका नगरप्रमुख मोहनमाया ढकालले स्थलगत अनुगमन गरेकी छन् । वीरेन्द्रनगरका विभिन्न वडामा पुगेर ढकालले कृषक महिलाहरुको विगतको अवस्था र टनेल पाएपछिको अपेक्षाका विषयमा बारीमै पुगेर समस्या र सुझाव संकलन गरेकी छन् ।


वीरेन्द्रनगर ५ की कमला सुनारले वर्षौंदेखि तरकारी खेती खुला रुपमा गर्दै आएको र अपेक्षाअनुसारको प्रतिफल पाउन नसकेको मेयर ढकाल समक्ष जानकारी गराइन् । ‘खुला रुपमा तरकारी खेती गर्थे तर कहिले हावाहुरी, कहिले असिनाले तरकारी नै सखाप हुन्थ्यो,’ सुनारले भनिन्, ‘मेयरसँग महिला कृषक कार्यक्रम लागू भएको थाहा पाएपछि अनुदानमा टनेल पाए अब बाचुञ्जेल राम्रो तरकारी खेती गर्छु ।’

सामुहिक रुपमा तरकारी खेतीमा होमिएका वीरेन्द्रनगर २ उत्तरगंगाका सिता रावत महतराले नगरपालिकाले दिएको टनेलले ठूलो राहत पुुगेको बताइन् । ‘टलेन नपाउँदा पहिला परम्परागत रुपमै तरकारी खेती गथ्र्यौं त्यसले जोखिम थियो,’ महतरा भन्छिन्, ‘नगरपालिकाले टनेल दिएपछि ढुक्कले जति ठूलो पानी, असिना वा हावाहुरी चलेपनि तरकारी खेती गर्न सकिने भयो ।’

व्यवसायी रुपमा लामो समयदेखि यहाँका महिलाहरु तरकारी खेतीमा लागेका छन् । प्रविधि र सीपको खासै जानकारी नहुँदा भनेजति उत्पादन गर्न नसकिरहेको अवस्थामा मेयरसँग महिला कार्यक्रमले थप उत्साही बनाएको महतरा बताउँछिन् ।

‘महिलाहरुले लामो समयदेखि खेती गर्दै आएपनि पहुँचकै आधारमा अनुदान दिइने तर प्रायः पौरखी महिलाहरु बञ्चित हुनुपर्ने अवस्था थियो,’ महतरा भन्छिन्, ‘अनुदानका लागि नगरपालिकामा निवेदन दिएको र हाम्रो पौरखका आधारमा टनेल पाउँदा धेरै खुसी छौं, यो कार्यक्रमले साच्चै वास्तविक कृषकहरु र त्यो पनि महिला कृषकहरुलाई सम्बोन्धन गरेकोमा हामी धेरै उत्साही बनेका छौं ।’
उनले खुला रुपमा तरकारी खेती गर्दा जोखिम बढी हुने भएकाले टेनेल भित्रको खेती सुरक्षित र उत्पादन बढ्ने भएकाले लगानीको जोखिम टरेको जानकारी दिइन् ।
नगरपालिकाले दिएको कृषि सामग्री र उपकरणले थप नयाँ महिला कृषक जोडिएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख हेमराज केसीले जानकारी दिए । उनले वडाभन्दा पनि उत्पादनमा बढी जोडिएका र जोड्न खोजिरहेका महिला कृषकहरुलाई विशेष प्राथमिकतामा राखेर सामग्री र उपकरण वितरण गरिएको बताए ।
कृषककै बारीमा पुगेर अनुगमन गरेकी मेयर ढकालले महिला कृषकहरुले फलाएको तरकारी र उहाँहरुमा देखिएको उत्साहले खुसी बनाएको बताइन् । कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिका गम्भीर रहेकाले आगामी आर्थिक वर्ष अझै धेरैभन्दा धेरै महिला कृषकहरुलाई व्यवसायीकसँगै उद्यमी बनाउनेतर्फ नगरपालिका अग्रसर रहने ढकाल बताउँछिन् ।

नेपाल कर्म । ११ असार २०८१, मंगलवार १७:५७