सुर्खेत विमानस्थल विस्तारको ढोका बन्द, स्तरोन्नति मात्रै गरिने

सुर्खेत । सुर्खेत विमानस्थललाई विस्तार गर्ने दलहरुका चुनावी रटानमा ब्रेक लागेको छ । हरेक निर्वाचन ताका विमानस्थल विस्तार गरेर एटिआर ७२ सिट क्षमताका जहाज अवतरण गराउँछौं भन्दै झुठा आश्वासन बाँड्दै आएका दलहरुको बोलीमा नै ब्रेक कर्णाली सरकारले लगाइ दिएको हो ।



‘कर्णाली प्रदेशमा हवाई सेवालाई नियमित, सुरक्षित, भरपर्दो र सुलभ बनाउन समन्वय र सहकार्य गरिनेछ, सुर्खेत विमानस्थलको स्तरोन्नतिका लागि संघीय सरकारसँग समन्वय गरिनेछ,’ नीति तथा कार्यक्रमको २६ नम्बर बुँदामा भनिएको छ। सुर्खेत विमानस्थल प्रदेश सरकारले बजेट हाल्ने र पहल गर्ने ठूला आयोजनाभित्र हरेक वर्ष परिरहन्छ। कर्णाली प्रदेश सरकार स्थापना भएयता नै सुर्खेत विमानस्थल प्रमुख एजेण्डाभित्र पर्ने गरेको छ।

गएका हरेक नीति तथा कार्यक्रम र बजेटमा सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार भनेर समावेश गरिएको हुन्थ्यो। यो वर्ष भने स्तरोन्नति भनिएको छ। किनकी अघिल्लो वर्षबाटै धावनमार्ग विस्तारको ‘च्याप्टर क्लोज’ भइसकेको छ। यो वर्ष पनि आफ्नो देखाउने एजेण्डाभित्र विमानस्थल पार्न ‘स्तरोन्नति’ लेखेर भए पनि समावेश गरिएको छ।

स्थापना भएयता आर्थिक वर्ष २०७८-७९ सम्म कर्णाली प्रदेश सरकारले सुर्खेत वीरेन्द्रनगरमा रहेको यो विमानस्थल विस्तार गर्ने भन्दै बर्सेनि बजेट विनियोजन गर्दै आएको थियो। उक्त आर्थिक बर्ष १ अर्ब ५० करोड रूपैयाँ विनियोजन गरिएको थियो।

२०७८ फागुनमा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाही र सरोकारवाला निकायबीच छलफल भएर वीरेन्द्रनगरको विमानस्थल विस्तार नगर्ने सहमति भएको थियो। धावनमार्ग विस्तार योजना कार्यान्वयनको क्रममा सुरूमा जग्गा दिन नमानेका प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा दिन खोज्दा अन्यत्र विकल्प खोज्न आग्रह गरेका थिए।

मुआब्जादेखि विस्तारको बजेटसम्मको अध्ययन गर्दा खर्च बढी लाग्ने भएपछि विमानस्थलको रनवे विस्तारको च्याप्टर क्लोज गरिएको थियो। त्यतिबेला नेपाल नागरिक उड्ड्यन प्राधिकरणले कर्णाली प्रदेश सरकारलााई बुझाएको अध्ययन प्रतिवेदनमा विमानस्थल विस्तारका लागि ९ अर्ब ४१ करोड रूपैयाँ लागत लाग्ने अनुमान गरेको थियो।

त्यति लगानी गर्दा पनि दुवै तर्फबाट र २४ सै घन्टा उडान, अवतरण गर्न भने सकिने थिएन। लगभग त्यति रकमले दुवैतिरबाट निरन्तर उडान, अवतरण गर्न सकिने नयाँ विमानस्थल बनाउन सकिने प्राविधिक टोलीले प्रदेश सरकारलाई भनेको थियो। प्रतिवेदनमा नयाँ विमानस्थल बनाउन ११ अर्ब लाग्ने अनुमान गरिएको थियो।

नागरिक उड्ड्यन प्राधीकरणका प्राविधिकको अध्ययन प्रतिवेदनका आधारमा कर्णाली प्रदेश सरकारले नै नयाँ विमानस्थलको विकल्प पनि खोजेको थियो। संघीय सरकारसँगको समन्वयमा भेरीगंगा नगरपालिकास्थित रामघाट क्षेत्रमा विमानस्थल बनाउने तय गरिएको थियो। त्यसका लागि २०७९ मा सम्भाव्यता अध्ययन पनि गरिएको थियो। त्यसअघि आएको आर्थिक बर्ष ०७९÷८० को बजेटमा समेत रामघाट क्षेत्रमा प्रदेशस्तरीय विमानस्थलको लागि संघीय सरकारसँग समन्वय गर्ने भनिएको थियो।

त्यसअघि विमानस्थलको उत्तरतर्फ ६ सय मिटर, दक्षिणतर्फ ४ सय मिटर, पूर्वतर्फ २५ मिटर र पश्चिमतर्फ २ सय मिटर क्षेत्रफलमा रहेका जग्गाको लगत कारोबार रोक्कासमेत गरेको थियो। कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको विमानस्थल स्तरोन्नतिको योजना सुर्खेतको नागरिक उड्ड्यन प्राधीकरण कार्यालय आफैंसँग पनि छ।

सुर्खेत विमानस्थलका प्रमुख राजनराज ढुंगेलका अनुसार सुर्खेत विमानस्थललाई अब स्तरोन्नति गर्नका लागि आगलागी नियन्त्रणका उपकरणमा वृद्धि, आरएनपी (रिक्वायरमेन्ट नेभिगेशन पर्फमेन्स) उपकरण जडान, सुरक्षाका संरचना विस्तार लगायतका काम गर्नुपर्छ। यी कामका लागि प्राधीकरणको सुर्खेत कार्यालयबाट पनि विभागमा पहल भइरहेको उनले बताए।

उनका अनुसार अहिले चलिरहेको धावनार्गको लम्बाई कम हुँदा एटीआर–७२ जहाज क्षमता अनुसारको भार बोक्न सक्दैन। कम्तिमा १५०० मिटर भयो भने उक्त जहाजले आफ्नो क्षमताअनुसारको पूरै यात्रु बोकेर उडान–अवतरण गर्न सक्ने उनले बताए।

‘रनवेबाहेक स्तरोन्नति गर्नुप¥यो भने त धेरै कुरा छन्, धेरैजसोलाई अपडेट गर्नुछ,’ उनले भने, ‘स्तरोन्नतिको लागि केही त हामीले आफैं पनि काम गर्दैछौं, विभागमा पुगेर पहल गरिरहेका छौं।’ सुर्खेत विमानस्थलमा आरएनपी (रिक्वायरमेन्ट नेभिगेशन पर्फमेन्स) जडान गरिएमा अहिले विमानस्थल देखिएपछि मात्र अवतरण गर्ने जहाजले उपकरणका सहायताले बादल लाग्दा पनि निश्चित उचाईबाट अवतरण गर्न सक्छ। आरएनपीले स्याटलाइटबाट जहाजलाई सिग्नल पठाउने गर्छ।

अहिले चलिरहेको अवस्थामा यो विमानस्थल सर्वसाधारण नागरिकको पहुँचमा नभएको ढुंगेलले बताए। सर्वसाधारणको पहुँच पु¥याउन विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्नेगरि स्तरोन्नति गरी व्यावसायिक उड्ड्यन क्षेत्रको प्रतिस्पर्धा गराउनुपर्ने उनी बताउँछन्।

‘सर्वसाधारणको पहुँच पुग्न भाडा घटाउनेतर्फ लाग्नुपर्छ, भाडा घटाउन एअरलाइन्सहरुले प्रतिस्पर्धा गर्न सक्नेगरी विमानस्थलको विकास गर्नुपर्छ,’ ढुंगेलले भने। सुर्खेत विमानस्थल कर्णालीका सक्रिय रूपमा सञ्चालन भएका विमानस्थलमध्येको प्रमुख पनि हो। यहाँ पछिल्ला केही वर्षयता काठमाडौं–सुर्खेत सीधा हवाई उडान पनि हुन्छ। अहिले दैनिक दुईवटा एटीआर–७२ जहाजमार्फत काठमाडौं–सुर्खेत, सुर्खेत–काठमाडौं उडान भईरहेको छ।

अब श्री एअरलाईन्सले पनि आफ्नो जहाजमार्फत काठमाडौं–सुर्खेत सेवा दिन खोजेको छ। ढुंगेलका अनुसार प्राधिकरणले अनुमति दिईसकेको भएपनि एअरलाईन्स आफ्नो प्रक्रिया पूरा गर्ने क्रममा छ। अहिले सुर्खेत विमानस्थलको धावनमार्ग १ हजार २५५ मिटर छ।

प्रदेश र संघीय सरकारले संयुक्त लगानी गरी थप ३ सय मिटर रनवे विस्तार सहमति अघिल्लो आर्थिक बर्षसम्म कायमै थियो। आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयकै अडानका कारण दुई वर्षसम्म यो आयोजना निश्कर्षमा पुग्न सकेको थिएन। त्यसपछि विस्तारको कामबाट सरकार पछि हटेको थियो।

तपाईको प्रतिक्रिया