संसदमा महिलालक्षित्  अभिव्यक्तिप्रति महिलामन्त्री चौधरीकाे आपत्ति,आत्मालोचना गर्न सांसदलाई आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । आर्थिक वर्ष २०८१र०८२ को विनियोजन विधेयकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि गरिएको विनियोजनको सम्बन्धमा आज प्रतिनिधिसभामा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।



३१ जेठमा सदनमा केही माननीयज्यूहरूले महिलाहरू असक्षम र सङ्कीर्ण सोच भएका हुन्छन् । सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था हुँदैनथ्यो भन्नेगरी दिएको अभिव्यक्ति तथा वैवाहिक बलात्कार जस्तो जघन्य अपराधका बारेमा बोल्दै गर्दा महिलाहरूलाई कसैको रहर पूरा गर्न मनोरञ्जनको साधन तथा उपभोग्य वस्तुको रूपमा मात्र चित्रण गरिने गरी दिएको अभिव्यक्तिले सम्पूर्ण महिलाको आत्मसम्मान र मर्यादालाई अवमूल्यन गरेको छ, मन्त्री चौधरीले भनिन् ।

मन्त्री चौधरीले सांसदबाटै यस्तो खाले अभिव्यक्तिले आम महिलाको आत्मसम्मानमा चोट पुगेको भन्दै उक्त अभिव्यक्तिप्रति आत्मालोचित हुन सम्बन्धित सांसदलाई आग्रह गरिन् । हिलालाई हेर्ने यस प्रकारको विभेदकारी तथा सङ्कीर्ण सोच हाम्रो साझा शत्रु हो । यसलाई परास्त गर्नु हाम्रो साझा कर्तव्य हो । यसले हामीले सुधार गर्नुपर्ने भनी प्राथमिकतामा राखेका हानिकारक अभ्यास हरूलाई नै मलजल गर्ने कार्य गरेको महसुस भएको छ, उनले भनिन्, यस प्रकारका अभिव्यक्तिबाट आम महिलाको आत्मसम्मानमा पुगेको चोटप्रति सम्बन्धित माननीयज्यूहरू आत्मालोचित हुनुहुनेछ भन्ने विश्वास लिएको छु ।

तपाईको प्रतिक्रिया