आज यी चार प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना, पश्चिम तराईमा भने अत्यधिक गर्मी

काठमाडौँ । आज (मंगलबार) पनि देशका चारवटा प्रदेशसँगै पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

सोमबारदेखि देशका अधिकांश स्थानमा मौसम बदली तथा वर्षा हुन थालेको हो। जसका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम घटी गर्मी कम भएको छ।

तर देशका मध्य तथा पश्चिम तराईमा भने अत्यधिक गर्मी हुने सम्भावना यथावत् देखिएको महाशाखाले जनाएको छ। किनकि त्यस क्षेत्रमा मौसम बदली र वर्षा भएको छैन।

तपाईको प्रतिक्रिया