हजयात्राका क्रममा साउदी अरबमा १३ सय १ यात्रीको मृत्यु, भएकाहरुकाे सार्वजनिक गर्‍यो तथ्याङ्क

साउदी अरबको प्रशासनले हजयात्राका क्रममा मृत्यु भएकाहरूको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ । साउदी अरबले सार्वजनिक गरेको उक्त तथ्याङ्कमा १३ सय १ जना यात्रीहरूको हजयात्राका क्रममा मृत्यु भएको उल्लेख छ ।



ठूलो संख्यामा हजयात्रीको मृत्यु भएपछि साउदी अरबको आलोचना भइरहेको छ । खासगरी अनुमतिपत्रबिना यात्रा गर्ने हजयात्रीहरूलाई सुविधा उपलब्ध नगराएको भन्दै साउदी अरबको आलोचना भइरहेको छ ।

साउदी अरबले यति ठूलो संख्यामा हजयात्रीको मृत्यु भएका सम्बन्धमा आफ्नो प्रतिक्रिया पनि दिएको छ । भीषण गर्मी र अवैध यात्राका कारण यस्तो घटना भएको साउदी अरब प्रशासनले बताएको बीबीसीले उल्लेख गरेको छ ।

यस वर्ष हजयात्राका क्रममा साउदी अरबमा अत्यधिक गर्मी भएको थियो । त्यहाँको तापक्रम ५२ डिग्री सेल्सियस नजिक पुगेको बताइएको छ ।

साउदी अरबको आधिकारिक न्युज एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ– मृत्यु भएका प्रत्येक पाँच जनामध्ये चार हजयात्रीसँग वैध परमिट थिएन । उनीहरूसँग कुनै आश्रयस्थलको व्यवस्था पनि थिएन । हजयात्राका क्रममा मृत्यु भएकामध्ये केही वृद्धवृद्धा र केही बिमारीहरू पनि छन् ।

साउदी अरबका स्वास्थ्यमन्त्री फहद अल जलाजेलले प्रचण्ड गर्मीबाट हुने खतरा र यसबाट बच्ने उपायका बारे हजयात्रीहरूमा सतर्कता बढाउने प्रयास भइरहेको जनाएका छन् ।

यसका साथै साउदी अरबका स्वास्थ्य संस्थाहरूमा करिब ५ लाख मानिसहरूको उपचार भइरहेको जनाइएको छ । त्यसमध्ये १ लाख ४० हजार भने अनुमतिपत्रबिना हजयात्रामा आएका बताइएको छ ।

तपाईको प्रतिक्रिया