युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताएका छन् ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई सरकारले पुरस्कारको घोषणा गरे पनि अझै दिन नसकेको भन्दै आलोचना भइरहेका बेला उनले आगामी आर्थिक वर्षको बजेटमा सोको व्यवस्था गरिएको बताइका हुन् ।


आइतबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट आवश्यक भएकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गर्न नसकिएको पनि स्पष्ट पारे । उनले एसियन र साग खेलकुदमा पदक विजेता खेलाडीहरूका लागि ६ हजारका दरले मासिक भत्ताको पनि व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको जानकारी दिए ।
मन्त्री श्रेष्ठले युवाहरूलाई कुलतमा राख्न नदिन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही रकम विनियोजन गरेको बताए ।

नेपाल कर्म । ९ असार २०८१, आईतवार १६:२२