रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा मन्त्री उप्रेतीले अन्तर्राष्ट्रिय प्रचलन अनुसार सामान्य अवस्थामा सीमा सुरक्षाको लागि नेपाली सेना सीमामा बस्न नमिल्ने बताए । उनले नेपाली सेनाले दूरीमा बसेर सीमा सुरक्षाको निगरानी गरिरहेको बताए ।


उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृङ्खलताको कारणले गम्भीर संकट उत्पन्न भएमा मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले सेना परिचालनको घोषणा गर्न सक्ने भन्दै त्यस्तो परिस्थिति आएमा सेना तयार रहेको बताए ।
उनले राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक तर्जुमा भई प्रक्रियामा अगाडि बढाइएको पनि जानकारी दिए । उनले नयाँ पिँढीमा राष्ट्रभाव कमजोर भइरहेको भन्दै राष्ट्रभाव जागृत गराउन राष्ट्रिय सेवा दललाई प्राथमिकतामा राखेको बताए ।

नेपाल कर्म । ९ असार २०८१, आईतवार १५:५३