११ देशमा आजै राजदूत सिफारिस गरिँदै, एमालेले अधिकांशलाई दोहोर्‍याउने

सरकारले रिक्त रहेका ११ देशमा आज राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । आजै साँझसम्म ११ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले जानकारी दियो ।



बिहीबार सत्ता साझेदार प्रमुख दलका तीन शीर्ष नेताहरू मा‌‍ओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने बसेर राजदूतको भागवण्डा टुंग्याएका थिए ।

हाल खाली रहेका ११ मध्ये एमालेले आठ, रास्वपाले दुई र मा‌ओवादी केन्द्रले एक राजदूत पाउने सहमति शीर्ष तहमा भएको छ । माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरूलाई फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र भाग पाएको स्रोतको भनाइ छ ।

२४ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशबाट राजदूत फिर्ता बोलाएको थियो । कुन देशको राजदूत कसले पाउने भन्ने कुरा पनि लगभग ट‌ु‌ंगिसकेको बताइएको छ ।

रास्वपाले भारत र अमेरिका मध्ये एक देशको राजदूत आफूले पाउने अडान लिएको थियो । तर यसमा प्रचण्ड ओली सहमत भएका छैनन् । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले अधिका‌ंशलाई दोहोर्‍याएर मौका दिने जानकारी दिए । यसअघि कांग्रेस सरकारमा रहेका बेला एमाले कोटबाट राजदूत बनेकाहरूलाई फिर्ता बोलाइएको थियो ।

तपाईको प्रतिक्रिया