प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले टी–इस्टेट जग्गा प्रकरणमा छानबिन समिति गठन गर्न माग गरेको छ । बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले गिरीबन्धुको फाइल खोल्न र छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका हुन् ।

महामन्त्री शर्माले एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी(इस्टेट को जग्गामा कांग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न पनि चुनौती दिए । उनले २०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर कांग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र २०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको भन्दै गिरीबन्धु प्रकरणमा कांग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरीबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चुनौती दिए ।


महामन्त्री शर्माले अध्यक्ष ओलीले आवेगले प्रश्न उठाएको भन्दै आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन कांग्रेस पछि नपर्ने बताए । ‘केपी कमरेडले फेरि पनि भन्नुभयो कि गिरीबन्धु प्रकरणमा कांग्रेसले ९१ बिघा जग्गा बेचेर कमिसन खायो । त्यो केपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो । गिरीबन्धु प्रकरणमा कांग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको कतै एक टुक्रा माटो छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरू हुनुहुन्छ, खोल्नुस् गिरीबन्धुको फाइल र बनाउनुस् छानबिन समिति,’ उनले भने ।

नेपाल कर्म । ६ असार २०८१, बिहीबार १४:२१