सुर्खेत । हावाहुरीका कारण विद्युतका पोल ढलेको वीरेन्द्रनगरस्थित रेडियो नेपाल क्षेत्रमा मर्मतको तत्कालै नहुने भएको छ । बुधबार साँझ आएको हावाहुरीले रेडियो नेपाल गेटदेखि पश्चिमतर्फका आठ पोलमा क्षती पुगेको हो । तर तत्कालै त्यो क्षेत्रमा काम नगरेर बैकल्पिक स्थानबाट विद्युत सेवा सुचारु गर्न लागेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

वीरेन्द्रनगर–बाँगेशीमल–बावियाचौर जोड्ने विद्युतको ३३ केभी प्रशारण लाइन एक वर्ष पहिले निर्माण गरिएको हो । हावाहुरीकै कारण आठ पोल ढलेपछि प्राधिकरणले रेडियो नेपालको दक्षिणतर्फ रहेको थापा टोलदेखि टेम्पोपार्कसम्म थ्रिफेज लाइन तानेर विद्युत सेवा शुरु गर्न लागेको छ ।
दिउँसोसम्म विद्युत अवरुद्ध रहेको थापा टोल, आदर्श नगर, बाँगेशीमल, भुरेली, रानीघाट लगायतको क्षेत्रमा विद्युत सुचारु गर्नेगरी काम भइरहेको वितरण केन्द्र सुर्खेतका प्रमुख अशोक लोहनीले जानकारी दिए ।

‘छिटो लाइन सुचारुका लागि दुई टोली बनाएर आवश्यक तारसहित पठाइसकेका छौं,’ लोहनीले भने, ‘सम्भवत् दिउँसोसम्म ढिला भए साँझसम्म लाइन सुचारु गर्छौं ।’

विद्युतका पोल नै ढलेपछि प्राधिकरणलाई झण्डै तीन लाखको क्षती भएको छ । १२ मिटर लामो विद्युतका प्रति पोलको मुल्य ३० हजार जडान खर्च पाँच हजार रहेको प्राधिकरणले जनाएको छ ।
यी पोल तत्काल सुर्खेतमा नभएकाले अहिले नै लाइन सुचारु गर्न नसकिने प्राधिकरणको भनाई छ । विद्युतको वुदवुदी सव–स्टेशनदेखि बाँगेशीमलसम्म ३३ केभी लाइन विस्तार गरेको हो । यो लाइनमा ३३ केभी र ११ केभी लाइन जडान गरिएको छ ।

नेपाल कर्म । ६ असार २०८१, बिहीबार ०९:३६