पेरिस ओलम्पिकमा पारा तेक्वान्दो खेलाडी महता सहभागी हुने

फ्रान्समा हुने पेरिस पारा ओलम्पिक २०२४ मा नेपालका पारा तेक्वान्दो खेलाडी भरतसिंह महता सहभागी हुने भएका छन् । वाइल्ड कार्ड कोटामार्फत दार्चुलाको अपिहिमाल गाउँपालिका–८ का २७ वर्षीय महताले फ्रान्समा हुने पेरिस पारा ओलम्पिकमा सहभागिता जनाउने पक्का भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । पेरिस पारा ओलम्पिकमा के(४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ किलोमुनिको तौल समूहमा महताले प्रतिस्पर्धा गर्नेछन् ।



पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार उक्त तौल समूहमा जम्मा १२ खेलाडी रहने छन् । महताले पछिल्लो १८ महिनादेखि राष्ट्रिय टोलीमा रहेर अभ्यास गर्दै आएका छन् । महतासँग हालसम्म दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । महताले चीनको ताइयानमा गत वर्ष चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा यसै वर्ष जेठ ६ मा भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका महता सेमिफाइनलमा मङ्गोलियाका खेलाडीसँग पराजित भएका थिए । उक्त प्रदर्शनपछि महता विश्व वरीयताको ८१औँ स्थानमा पुगेका थिए । भियतनाममा पनि महताले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका उनले दोश्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए ।

भियतनामको प्रदर्शनपछि महता विश्व बरियताको ५८औँ स्थानमा उक्लिएको प्रशिक्षक लामाले जानकारी दिए । अहिले उनी ५८औँ स्थानमा कायम छन् । पेरिस पारा ओलम्पिकमा पलेशा गोवर्द्धनन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी हुन् । चीनको ताइयानमै भएको एसियाली छनोटको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया