संसद सचिवालयका कर्मचारीले घेरे महासचिवको कार्यकक्ष

संघीय संसद सचिवालयका कर्मचारीहरूले संसदका महासचिवको कार्यकक्ष घेराउ गर्दै विरोध गरेका छन् ।



संसद भवन नयाँ बानेश्वरस्थित संसदका महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीहरूले संसदमा अतिरिक्त समयमा काम गरेबापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन् ।

कर्मचारीहरूले आन्दोलनका क्रममा हातमा कालोपट्टीसमेत बाँधेर विरोध जनाएका थिए । उनीहरूले संसदमा कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गरेको भत्तालगायत सेवा सुविधाहरू थप गर्न माग गर्दै बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

संसद सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले साँझ ५ बजेसम्मको सयमय कुर्ने र माग पूरा नगरे बुधवारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिए । उनले बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधानको सुनिश्चितता हुनुपर्ने माग गरे । उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

संसद सचिवालयका कर्मचारीहरू ११ बुँदे मागसहित आन्दोलनमा छन् । सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संसदका राजनीतिक दलका प्रमुख सचेतकहरूले सोमवार कर्मचारीहरूसँग छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया