सुर्खेतमा स्थापना भएकाे लगानी कोषले के–के सेवा प्रदान गर्छ ?

सुर्खेत । वीरेन्द्रनगर नागरिक लगानी कोषको शाखा कार्यालय स्थापना गरिएको छ । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पुँजी वृद्धि गर्ने र लगानीका अवसरहरु बढाउँदै पुँजी बजारको विकासमा गतिशीलता ल्याउने कोषको मुख्य उदेश्य हो ।



यसले सर्वसाधारण, विभिन्न संगठीत सङ्घ–संस्थामा कार्यरत कर्मचारी-कामदार तथा संगठीत सङ्घ–संस्थाहरूबाट समेत विभिन्न कार्यक्रम अन्तर्गत बचत सङ्कलन गरी त्यसरी संकलित बचत रकमलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी प्रबन्ध गर्दै आएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वको कोषले विभिन्न योजनाका सहभागीहरुलाई काठमाडौंबाट प्रदान गरिने सबै सेवाहरु अब सुर्खेतबाटै प्रदान गर्नेछ । कर्णालीका १० जिल्लाहरुका सबै काम सुर्खेत शाखाले नै हेर्नेछ ।

कार्यालयले सुर्खेतबाटै परिचयपत्र तथा परिचयपत्र नम्बर वितरण गर्ने, फाँटवारी संकलन तथा ईन्ट्री, लेखा प्रणाली प्रदान गर्ने, हिसाब मिलान गर्ने, ८० प्रतिशत सापटी प्रदान जस्ता सेवाहरु प्रवाह गरिने शाखा प्रमुख प्रविन राईले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार ऋण सापटी फिर्ता, भुक्तानीको कार्य गर्ने, अवकाश पछिको अन्तिम तथा छुट रकमको भुक्तानी प्रदान गर्ने, ब्यालेन्स सर्टिफिकेट प्रदान गर्ने, अनलाईन सेवा र मोवाईल एप्स सम्बन्धी सेवा प्रदान गर्ने तथा अनलाइन फाँटवारी दाखिला सम्बन्धी जानकारीसँगै तालिमसमेत प्रदान गरिनेछ ।

आगामी आर्थिक वर्ष २०८०-०८१ देखि आवास कर्जा, सरल कर्जा र जग्गा खरिद कर्जाको सेवा प्रवाह गरिने प्रमुख राईले बताए । हाल कार्यालयबाट दैनिक ५० जनाले सेवा लिइरहेका छन् । ‘कोषले विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर अन्तरक्रिया लगायतका गतिविधि गर्दै आएको छ,’ प्रमुख राईले भने, ‘कोषद्वारा सञ्चालित कर्मचारी बचत वृद्धि, अवकाश कोष, बिमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना तथा नागरिक पेन्सन योजनबाट प्रदान गर्दै आएका सेवाहरुको प्रदेशका सबै जिल्लाहरुमा पु¥याउनेगरी काम गर्नेछौं ।’

तपाईको प्रतिक्रिया