अफगानिस्तानलाई वेस्ट इन्डिजले १०४ रनले हरायो

काठमाडौं । टी–२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ ।



२१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेस्ट इन्डिजले फराकिलो जीत हात पारेको हो ।

जारी विश्वकपको यो नै सबैभन्दा ठूलो अन्तरको जीत हो । विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन बनाउन बाहेक अरुले दोहोरो अंक नै बनाउन सकेनन् ।

अफगानिस्तानलाई अलआउट गर्न वेस्ट इन्डिजका ओबेद म्याककोयले तीन, मुडाकेश मोती र अकिल हुसैनले दुई/दुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले एकरएक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रन बनाएको थियो । पुरणले ५३ बलमा ९८ रनको आक्रामक इनिङ खेले । जोनसन चार्ल्सले २७ बलमा ४३, शाई होपले १७ बलमा २५, रोभम्यान पावेलले १५ बलमा २६ रन बनाए ।

अफगानिस्तानका गुलबदिन नाबीले २ तथा नवीन उल हक र फजलहक फारुकीले एकएक विकेट लिए ।

समूह सीबाट अफगानिस्तान र वेस्ट इन्डिज दुवै सुपर–८ मा पुगिसकेका छन् ।

सुपर–८ को समूह २ मा रहेको वेस्ट इन्डिजले इंग्ल्याड र समूह १ मा रहेको अफगानिस्तानले इन्डियासँग पहिलो खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया