सुर्खेत । कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपश्चिम विश्वविद्यालयले कर्णालीको समाज सुधार गर्नतर्फ भुमिका बढाउनु पर्ने बताएका छन् । सोमबार विश्वविद्यालयको १४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले एमयूको स्थापनाको मूल मर्म समग्र कर्णालीको विकास र उन्नयन अनुरुप भूमिका बहन गर्न सके कर्णालीको अवस्था परिवर्तन गर्न टेवा पुग्ने बताए ।

मध्यपश्चिम विश्वविद्यालय लगायत कर्णालीको समग्र शैक्षिक क्षेत्रमा कर्णाली प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्यका लागि नीति तथा कार्यक्रम मार्फत सम्बोधन गरेको उनले बताए । विश्वविद्यालयलाई मैनवत्ती र ऐनाको रुपमा बिम्बित गर्दै समाज सुधारको प्रमुख अंगको रुपमा स्थापित गर्री सबैले सामुहिक जिम्मेवारीका साथ कर्णालीको विकासमा लाग्नु पर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए ।


यस्तै, कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई एक उत्कृष्ट विश्वविद्यालयको रुपमा स्थापित गर्नु नै आफ्नो कार्ययोजनाको मूल मर्म रहेको बताए । यसमा सबैको सहयोगको अपेक्षा गरेको उनको भनाई छ ।
विश्वविद्यालय प्राध्यापक, कर्मचारी, विद्यार्थी र सरोकारवाला सबैको साझा थलो भएको र सहकार्यका माध्यमबाट विश्वविद्यालय अगाडी बढ्ने उनले बताए । कर्णाली प्रदेश र कर्णाली बासीको गौरवको रुपमा रहेको मध्यपश्चिम विश्वविद्यालय स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार लगायत विकास साझेदार, निजी संस्था सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता उपकुलपति गौतमले जनाए ।

नेपाल कर्म । ३ असार २०८१, सोमबार १६:४८