साउदी अरबमा हजका क्रममा अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना जोर्डनका नागरिकको मृत्यु भएको छ ।

जोर्डनको विदेश मन्त्रालयले आफ्ना १४ जना नागरिकको अत्यधिक गर्मीका कारण मृत्यु भएको पुष्टि गरेको छ । हजका क्रममा १७ जना बेपत्ता भएको र उनीहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् ।

एएफपी समाचार एजेन्सीका अनुसार इरानी रेड क्रिसेन्टले पाँच जना इरानी हज तीर्थ यात्रीको पनि मृत्यु भएको पुष्टि गरेको छ । तर उनीहरूको मृत्युको स्पष्ट कारण खुलाइएको छैन ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोह मध्ये एक हो । साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले यसमा भाग लिएका छन् ।
साउदीमा अहिलेको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ ।

नेपाल कर्म । ३ असार २०८१, सोमबार १६:२९