काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ। आज सिंहदरबारमा भएको दुई पक्षबीचको छलफलमा १५ दिनभित्र संघको माग पूरा गर्ने सहमति भएको हो।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको मागका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) को अध्यक्षतामा भएको छलफलमा चारबुँदे सहमति भएको छ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको ७ बुँदे मागलगायत यस क्षेत्रमा देखा परेका समस्याहरूको समाधान गर्ने गरी १५ (पन्ध्र) दिन भित्र प्रतिवेदन पेश गर्न निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुने गरी एक उपसमिति गठन गर्ने सहमति भएको छ।

त्यस्तै,नेपाल आयल निगमले व्यवसायीहरूलाई दिई आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालकरसहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरूलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने सहमति भएको छ।
आज ३ गतेदेखि ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने र विद्यमान कानूनी व्यवस्थाहरूको पालना सम्बन्धमा नियमित रूपमा प्रभावकारी अनुगमन गर्ने सहमति भएको उक्त सहमति पत्रमा उल्लेख छ।
चालक संघले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनले,५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्नेलगायत माग राख्दै शनिबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए। उनीहरूले पेट्रोलपम्प नै बन्द गरेपछि उपभोक्ताहरू मारमा परेका थिए। पेट्रोल पम्प बन्द गर्दा नेपाल प्रहरी, आर्मी र सशस्त्रको पेट्रोल पम्पहरूमा बिहानैदेखि सर्वसाधारणको थेगिनसक्नु भिड बढेको छ।

नेपाल कर्म । ३ असार २०८१, सोमबार १६:२२