घाँस बोकेको सरकारी गाडीको भाइरल तस्वीरको सत्यता

सुर्खेतमा घाँस बाेकेर आलाेचित बनेकाे सरकारी गाडी जाजरकाेटमा अज्ञात समूहले जलाएपछि दर्ता नै खारेजी

सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीर जवजस्त भाइरल गराइएको छ । घाँस बोकेको कर्णाली प्रदेश ०२–००१ झ ००४० नम्बरको सरकारी गाडी फेसबुक प्रयोगकर्ताले सरकारी सम्पत्तीको दुरुपयोग भन्दै विभिन्न व्यक्तिहरुले भाइरल गराइरहेका छन् ।



सरकारी गाडीमा घाँस बोक्नु गलत हो । एक प्रयोजनका लागि लगिएको गाडीमा त्यसरी घाँस बोक्नु गम्भीर त्रुटी मात्रै हैन दुरुपयोग हो भन्नेमा कुनै शंका छैन् ।

नागरिक पत्रकारिता अर्थात् सामाजिक सञ्जालमा हालेका सूचना शत प्रतिशत नै तत्कालकै सत्य हुन भन्ने जवरजस्त भाष्य स्थापित भइरहँदा आज हामीले भाइरल तस्वीरको वास्तविकता प्रस्तुत गर्न लागेका हौं । सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल गराइएको तस्वीर २०७७ साल पौस ४ गतेको हो ।

घाँस बोकेको गाडी तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गणेशप्रसाद सिंहले चढ्थे । उनी २०७४ को निर्वाचनमा जाजरकोटबाट प्रदेश सभा सांसदमा निर्वाचित थिए ।

४ पुस २०७७ मा घाँस बोकेको सरकारी गाडी प्रहरी चौकी सुब्बाकुनाले नियन्त्रयमा लिएको (बायाँ) र १६ पुस २०७७ मा जाजरकोटमा सोही गाडी आगजनी गरेपछि जलेर नष्ट भएको (दायाँ) । तस्वीर : नेपालकर्म ।

संसदको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका सिंहले प्रदेश सभाबाट गाडी पाएका थिए । समितिका सभापतिलाई संसदले सुविधाको लागि गाडी दिने गर्छ । सिंहले पनि सोही गाडी प्रयोग गर्दै आएका थिए ।

तिनै सिंहले सरकारी गाडीको चरम दुरुपयोग गरेका थिए । कोठा भाडामा बस्दै आएका सिंहले घरमा बाख्रा पालेका थिए । छिन्चुबाट वीरेन्द्रनगर फर्कीदै गर्दा सिंहले बाख्राका लागि घाँस ल्याएको पाइएपछि सुब्बाकुनामा रहेको ट्राफिक प्रहरीले कारवाही लागि नियन्त्रणमा लिएको थियो ।

सत्य : अहिले भाइरल भएको तस्वीर ४ पुस २०७७ को हो ।

अज्ञात समूहले जलाएको थियो घाँस बोक्ने गाडी
२०७७ पुसमै चर्चा बटुलेको घाँस बोक्ने सरकारी गाडी जाजरकोटमा जलाइएको थियो । नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड–माधव समूहको शुक्रबार जाजरकोटको स्याउलीबजारमा आयोजना गरिएको पार्टी कार्यक्रममा जाने क्रममा सांसद सिंह वडा अध्यक्षको घरमा बास बसेका थिए ।

उनी बास बसेको घर अगाडी पार्किङमा राखिएको गाडी १६ पुस २०७७ मा अज्ञात समूहले आगजानी गरेको थियो । भेरीनगरपालिका–७ पुन्ममा १६ गते राती १०ः०० बजे गाडीमा आगो लगाइएको हो । आगलागीबाट गाडी पूर्ण रुपमा क्षती भएको थियो । आगो लगाउनुको कारण नखुलेपनि प्रहरीले अज्ञात व्यक्तिहरुलाई खोजिरहेको जनाएको हो ।

दर्ता नै खारेजी
घाँस बोकेर चर्चामा आएको सरकारी गाडी १६ पुस २०७७ मा अज्ञात समूहले जलाएपछि कर्णाली प्रदेश सभा सचिवालयले आफ्नो नाममा दर्ता रहेको गाडी खारेज गरिसकेको कर्णाली प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले जानकारी दिए ।

उनकाअनुसार जलाइएको गाडी पुन मर्मत सम्भार गर्न नसकिने देखिएपछि सचिवालयले कर्णाली प्रदेश ०२–००१ झ ००४० नम्बरको महिन्द्रा स्कारपियो सवारी २६ चैत २०७७ मा कार्यालयको दर्ता प्रमाणपत्र खारेज गरी दर्ता अभिलेखबाट सवारीको लगत कट्टा खारेज गरिएको हो ।

सरकारी सवारीमा घाँस बाेक्नु गलत मात्रै हैन सरकारी सम्पत्तीकाे चरम दुरुपयाेग हाे । अहिले भाइरल गराइएकाे तस्वीर दुइ वर्ष ६ महिना पहिलेकाे हाे । तसर्थ सामाजिक सञ्जाल जानकारी दिने माध्यम हाे तर पुराना सामग्रीलाई अहिले नै भएकाे हाे जसरी भाइरल गराउनु गलत पक्ष हाे ।

तपाईको प्रतिक्रिया