सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्वको हाक्ने अवसर आएपनि मुख्यमन्त्री नपाएको सुर्खेतले सात वर्षपछि नेतृत्व पाएको छ । विकासवादी र खरो विचार राख्ने व्यक्तित्व हुन यामलाल कँडेल । तिनैले अहिले कर्णाली प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् ।
प्रदेश राजधानीको जिल्ला सुर्खेतले अपेक्षाकृत विकास बजेट नपाएको भन्दै एकपटक कँडेलले नेतृत्व पाए समग्र जिल्ला र प्रदेश राजधानीको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको थियो । तिनै कँडेलले अहिले कर्णाली सरकारको बागडोर सम्हालिरहेका छन् ।
चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । मुख्यमन्त्री समग्र प्रदेशकै साझा हुन् ।


तर राजधानीको विकास मोडलले नै बाँकी ९ जिल्लाले पछ्याउने भएकाले वीरेन्द्रनगरलाई सुधार गर्नुपर्ने माग कँडेलले उठाउँदै आएका थिए । तर आगामी ववर्षको बजेटमा तिनै मुख्यमन्त्री कँडेलले समग्र जिल्लासँगै र वीरेन्द्रनगरको विकासको लागि अपेक्षाकृत योजनाहरु समावेश गरेका छन् ।
पर्यटनदेखि पूर्वाधार विकासका लागि कँडेलले केही योजनाहरु समावेश गरेका छन् । निजी क्षेत्र समेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा रहेका कटकुवा, लादे, गोठीकाँडा तथा सिद्धपाईला क्षेत्रलाई हिलस्टेशनको रुपमा विकास गर्ने योजना बजेटमा समावेश छ । ति क्षेत्रलाई हाइकिङ्ग तथा पदमार्गको रुपमा प्रवर्द्धन गरिने अर्थमन्त्री महेन्द्र केसीले बताए ।

प्रदेशकै प्रमुख आकर्षक पर्यटकीय गन्तव्यमा सुर्खेतको काँक्रेविहार र बुलबुलेलाई समावेश गरिएको छ । यी दुवै क्षेत्रको संरक्षण र विकासका लागि बनेका गुरुयोजना कार्यान्वयन गर्न जिल्लाका अन्य पर्यटकीय स्थलसँगै समग्रमा १४ करोड बजेट विनियोजन गरिएको छ ।
बुलबुलेदेखि निकास खोलासम्मको जलविहार सहितको बहुउद्देश्यीय परियोजना विकासको लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गर्ने योजना बजेटमा परेको छ ।
सङ्घीय सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति गरिने र स्वच्छ, सफा र हरियाली सहरः कर्णालीको मानक वीरेन्द्रनगर नारासहिति मुख्य सहरी क्षेत्र तथा नदी किनारामा सहरी हरियाली प्रवर्द्धन कार्यक्रम अघि बढाउन बजेट छुट्टाइएको छ । सबै पक्षको समन्वयमा प्रदेश राजधानी हरियाली कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री केसीले बताए ।
लुम्बिनी प्रदेशको बर्दियालाई जोड्ने अन्तरप्रदेश जोड्ने मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालित ग्रामीण सडक सञ्जाल आयोजना अन्तर्गत खरिद प्रकृया सम्पन्न भइ निर्माण कार्य सुरू हुन लागेका दशरथपुर–डाँडागाउँ–जितेजुवा–ढाडखेत–मटेला–धरमपोखरा सडक, प्रदेश रणनीतिक महत्वको रूपमा रहेका बड्डीचौर–बिग्रेनी–बाबियाचौर–विद्यापुर सडक, घाटगाउँ–गुटु–साल्म–कोरालावास–कुल्लीमोर सडक, हुड्के–व्यूरेनी–माझघाट–चेपाङ–जामु सडक पनि बजेटमा समवेश छ ।
सुर्खेतले प्राथमिकता पाएका योजनाहरु
- धरमपोखरा–अवलचिङ-रानिवास-जितेजुवा-रहकुल-वादासाल सडकको संरचना निर्माण तथा स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकता ।
- आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सुर्खेत जिल्लाको मुख्य पर्यटकीय केन्द्रको रूपमा रहेको गोठिकाँडा क्षेत्रको यातायात पहुँचलाई सुधार गर्न छेडा-गढी-लेखगाउँ-श्रीचौर-कल्यानकाँध सडक निर्माण कार्यको लागि रू. ३ करोड विनियोजन ।
- कर्णाली प्रदेशमा हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी रङ्गशाला आसपासका सडकहरू कालोपत्रे गर्ने कार्यका लागि आवश्यक रकम विनियोजन।
- वर्षेनी वर्षातको समयमा डुबानबाट समस्याग्रस्त सुर्खेत विमानस्थल वरपरका क्षेत्रको डुबान समस्या समाधान गर्न बहुवर्षीय आयोजनाको रूपमा कार्यान्वयन हुने गरी सुर्खेत विमानस्थल ढल व्यवस्थापन र सडक स्तरोन्नतिका लागि रू. ४ करोड ५० लाख विनियोजन ।
- प्रदेश राजधानी वीरेन्द्रनगर लगायतका शहरहरूका सडकहरूमा सडक सुरक्षाको लागि आवश्यक सडक सङ्केत, मुख्य मुख्य चोकहरूमा ट्राफिक सङ्केत राख्न आवश्यक रकम विनियोजन ।
- सुर्खेतमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालनका लागि ट्रायल सेन्टर निर्माण गर्न र प्रदेशमा नै सवारी चालक अनुमतिपत्र छपाई तथा वितरणको लागि आवश्यक रकम विनियोजन ।
- प्रदेश राजधानी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर सुर्खेतलाई स्वच्छ सुन्दर र व्यवस्थित शहरको रुपमा विकास गर्दै लगिनेछ। प्रदेश सरकारका मन्त्रालयहरूलाई एकीकृत स्थानमा स्थानान्तरण गर्न प्रदेश महत्वको आयोजनाको रूपमा एकीकृत प्रशासनिक भवन तथा परिसर निर्माणका लागि रू.३० करोड विनियोजन।
- प्रदेश अस्पताल सुर्खेतबाट प्रदान गरिने विशेषज्ञ स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन जनशक्ति, भौतिक पूर्वाधार, औषधी र उपकरणको सुनिश्चितता गरिनेछ। यस अस्पताललाई प्रेषण तथा शिक्षण अस्पतालको रूपमा विकास गर्न अध्ययन पश्चात आवश्यक कानुनी व्यवस्था गरिनेछ। अस्पतालको पूर्वाधार विकास तथा सुधारको लागि रू. ५० करोड विनियोजन गरेको छु।
- प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको सुदृढीकरण गरी कर्णालीका जडीबुटी प्रयोग गरी आयुर्वेद औषधीको उत्पादन शुरू गरिनेछ।
- रामघाटमा रहेको मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषि विज्ञान क्याम्पस, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पसको पूर्वाधार विकास तथा सुधारका लागि रू. ४ करोड ३५ लाख रकम विनियोजन ।
- प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रदेश रङ्गशाला निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ। यस प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदलाई सफल रुपमा सम्पन्न गर्न आवश्यक पूर्वाधारको निर्माण कार्यलाई उच्च प्राथमिकता।
- प्रदेश सङ्ग्रहललयको अभिलेख, अध्ययन, अनसुन्धान तथा ज्ञान निर्माण हुनेगरी विकास र विस्तार गर्ने।
- नेपाल सरकार र स्थानीय तहसँगको साझेदारीमा वीरेन्द्रनगर सुर्खेतको बृहत खानेपानी आयोजना भेरी पम्पिङ्गलाई कार्यान्वयनका लागि रू. ३ करोड ५० लाख विनियोजन ।
- खानेपानी, सिँचाइ, पर्यावरण र पर्यटनको एकीकृत विकासका लागि चौकुने गाउँपालिकामा रहेको जुम्ल्यामूल ताल बहुउद्देश्यीय आयोजना सञ्चालन गर्न रू. १७ करोड विनियोजन गरेको छु।
- नदी माथिका गरा, बनाउँछौ हराभरा भन्ने मूल ध्येयका साथ कर्णाली, भेरी बेसीन किनारमा रहेका टारहरूमा लिफ्टिङ्ग प्रणालीको माध्यमबाट सिँचाइ सुविधा विस्तार गर्ने व्यवस्था ।

सुशील खड्का । १ असार २०८१, शनिबार १९:४९