दाँत मुख र गिजा सम्बन्धी शिविरमा १५ सयले लिए सेवा

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा भएको निःशुल्क शिविरमा १५ सय बढि बिरामीले दाँत, मुख र गिजा सम्बन्धी सेवा लिएका छन् । गाउँपालिकाले जेठ २९ गतेदेखि दाँत, मुख र गिजा सम्बन्धि निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको थियो ।



शिविर शनिवार सकिएको छ । सबै नागरिकलाई पायक पर्ने गरि जेठ २९ गते हरिहरपुर स्वास्थ्य चौकी रानीघाट, ३० गते तरगां स्वास्थ्य चौकी, ३१ गते लेखगाउँ स्वास्थ्य चौकी फिनिकाँडा, ३२ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर ६ को विउरेनी र असार १ गते कुनाथरी स्वास्थ्य चौकी बड्डीचौरमा शिविर चलाईएको थियो ।


शिविरमा समय विहान १० बजेदेखि बेलुका ४ बजेसम्म बिशेष उपचार सेवा प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए । उनका अनुसार शिविरमा दाँत, मुख, गिजा सम्बन्धी परार्मश, नदुखाइ दाँत निकाल्ने, दाँत नभएको ठाउँमा कृर्तिम दाँत लगाउने, पुरा सेट दाँत लगाउने, दाँत सम्बन्धी अन्य रोगको परार्मश दिईएको थियो ।


गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले नागरिकको चासोको विषय भएकोले नागरिकहरुकै मागको आधारमा शिविर चलाईएको बताए । ‘हामीले गाउँपालिकाबासीको माग र आवश्यकतालाई मध्यनजर गरेर शिविर चलाएका हौँ, लामो समयदेखि दाँत, मुख र गिजा सम्बन्धि स्वास्थ्य समस्या झेलिरहेका नागरिकहरुले सहज रुपमा सेवा पाएका छन्,’ अध्यक्ष भण्डारीले भने । गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर कार्यक्रमहरु सञ्चालन गरिरहेको उनको भनाई छ ।

लामो समयदेखि दाँत, मुख र गिजाको समस्याबाट ग्रसित बिरामीहरुले शिविरमा निशुल्क सेवा पाएका छन् । दाँत, मुख र गिजा सम्बन्धि निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर चलाएर गाउँघरमै निशुल्क सेवा लिन पाएको भन्दै सेवाग्राही नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया