काठमाडौं । जी–७ बैठकले युक्रेनलाई ५० बिलियन डलरको सहयोग जुटाउन रुसबाट जफत गरिएको सम्पत्ति उपयोग गर्ने सहमति गरेको छ।

इटलीमा जारी जी–७ बैठकले रुसविरुद्ध लड्न युक्रेनलाई सहयोग गर्ने प्रयोजनका लागि रुसकै प्रतिबन्धित सम्पत्ति बेच्ने सहमति गरेको हो। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता जी७ सदस्य राष्ट्रहरुमा रहेको रुसको झण्डै ३२५ बिलियन डलर मूल्य बराबरको सम्पत्ति फ्रिज गरिएको छ।


यो सम्पत्तिबाट प्रत्येक वर्ष झण्डै ३ बिलियन डलर बराबरको ब्याज प्राप्त भइरहेको छ । यो पैसा युक्रेनका लागि दिइने ५० बिलियन डलर ऋणको ब्याज भुक्तानीमा प्रयोग गर्ने सहमति जी–७ सम्मेलनमा जुटेको बीबीसीले जनाएको छ। यो पैसा सन् २०२४ सम्ममा जुटिसक्ने सम्भावना नरहे पनि युक्रेनको दीर्घकालीन विकासका लागि सहयोगी हुने विश्वास नेताहरूले लिएका छन्।
जी–७ बैठकमा अमेरिका र युक्रेनबीच १० वर्षका लागि द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षरसमेत भएको छ। यो सम्झौतालाई युक्रेनले ऐतिहासिक उपलब्धि भनेको छ। यो सम्झौताअनुसार अमेरिकाले युक्रेनमा सैन्य प्रशिक्षण सहयोग गर्नेछ। तर युक्रेनी सेनासँग मिलेर अमेरिकी सेना युद्धमा भने सहभागी हुने छैन।

नेपाल कर्म । ३२ जेष्ठ २०८१, शुक्रबार ११:४५