काठमाडौँ । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्त्वाकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताएका छन्।

बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले नेपाली सेनालाई महत्त्वाकांक्षा बढ्न दिनु नहुने बताएका छन्। उनले नेपाली सेनाको महत्त्वाकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताए। उनले नेपाली सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो भनी प्रश्न गरे।

उनले नेपाली सेनालाई अझै आधुनिकीकरण, सक्षम र लोकतान्त्रिकरण गर्नुपर्ने बताए। उनले नेपाली सेनाभित्र गणतन्त्र नआएको टिप्पणी गरे। उनले राष्ट्रिय सुरक्षा नीतिमा समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिए।

सांसद गुरुङले भने, ‘हामी सेनालाई व्यापार गर्न दिन्छौँ, ठेक्कापट्टा गर्न दिन्छौँ। सुरक्षा र संवेदनशीलताको हिसाबले यो कत्तिको जायज होरु आज कुनै नेताले यो कुरा मुख खोल्न सक्दैन होला। हामीले सोच्नुपर्छ, त्यो चिज धेरै महत्त्वाकांक्षी बन्यो भने त्यसले हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि विभिन्न देशको घटना हेर्दाखेरी त्यस्तो महत्त्वाकांक्षा बढ्दा के हुन्छ रु हामीले देखेको छौँ नि। त्यहाँभित्रका धेरै कुरा लोकतान्त्रिकरण हुन सकेका छैनन्। त्यहाँ गणतन्त्र आएको छैन भन्ने लाग्छ मलाई।’
सांसद गुरुङले सबै मन्त्रालयका बजेट परम्परावादी भएको बताए। उनले बजेट मन्त्रालयका सचिव, सहसचिवहरूले बनाएको देखिने भन्दै त्यसबाट माथि उठ्न बजेट निर्माणमा मन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए।

नेपाल कर्म । ३० जेष्ठ २०८१, बुधबार १५:००