काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले विद्यार्थीले बाआमा पढाउने कार्यक्रम ल्याइदिन शिक्षा मन्त्रीलाई आग्रह गरेकी छिन्।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै कार्कीले दुर्गम क्षेत्रका विद्यार्थीलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याउन आग्रह गरेकी हुन्।

‘जसले गर्दा विद्यार्थीले खर्च गर्न केही पैसा पनि पाउँछन्, आफ्ना बाआमालाई पढाउँछन् पनि’, उनले भनिन्, ‘यसले विद्यार्थीलाई हौसला पनि दिन्छ। यो एउटा कार्यक्रम थपिदिनुस् न।’

उनले विद्यालयको म्यापिङ गर्न पनि शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइन्। विद्यालय घरदेखि टाढा विद्यार्थीको पहुँचभन्दा बाहिर रहेको भन्दै उनले पायक पर्ने स्थानमा एकीकृत गर्न आग्रह गरिन्।
विद्यालयका जग्गा भवनलगायतका सम्पति अहिले पनि भुमाफियाको कब्जामा रहेको भन्दै त्यसलाई फिर्ता ल्याउने पहल गर्न पनि शिक्षा मन्त्रीलाई उनले आग्रह गरिन्।

नेपाल कर्म । २९ जेष्ठ २०८१, मंगलवार १५:४९