साइबर अपराधको आरोपमा समातिएकी तारा बरालमाथि अनुसन्धान गर्न तेस्रोपल्ट म्याद थप

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने तारा बरालमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट तेस्रोपल्ट म्याद थप गरेको छ । २० जेठमा काठमाडौंको बबरमहलबाट पक्राउ परेकी उनीमाथि अनुसन्धान गर्न आइतबार तीन दिन म्याद थपिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । यसअघि ब्युरोले अनुसन्धानका लागि अदालतको अनुमतिमा दुईपल्ट म्याद थप गरेको थियो ।



‘थप अनुसन्धान गर्नुपर्ने देखिएकाले आज (आइतबार) तीन दिनको म्याद लिएका छौँ,’ एसपी अवस्थीले भने ।

बराललाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ । झण्डै एक वर्षदेखि पूर्व एआईजी रणबहादुर चन्दसँग बरालको वादप्रतिवाद हुँदै आएको थियो । विवाद बाहिरिँदै गर्दा बरालले चन्दसँगका गोप्य अडियो सामग्रीहरू फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । साथै, चन्दसँग चिनजान भएकी एक महिलाको नामै लिएर उनले विभिन्न आक्षेप पनि लगाएकी थिइन् ।

अघिल्लो साता उनले फेसबुक लाइभमा आएर आफूविरुद्ध चन्दले साइबर ब्युरोमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया