सुर्खेतको मौसमी राडार दुइ वर्षसम्म मर्मत हुन सकेन

सुर्खेत । सुर्खेतको मौसमी राडार बिग्रेको दुई वर्ष हुँदा पनि हालसम्म मर्मतसम्भार हुन सकेको छैन । मर्मतसम्भारका लागि बजेट अभाव भएको भन्दै सम्बन्धित निकायले हालसम्म पनि मर्मतसम्भार गर्न सकेको छैन । वर्षायाममा हुन सक्ने विपत्बाट बचाउन तत्कालको मौसम पूर्वानुमान गर्न सो मौसमी राडरको स्थापना गरिएको थियो ।



सात वर्षअघि २०७६ साल मङ्सिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को रातानाङ्लामा मौसमी राडार सञ्चालनमा ल्याइएको थियो । चट्याङ परेर राडारका केही उपकरण बिग्रेका, जेनेरेटरमा पनि क्षति पुगेकाले दुई वर्षदेखि बजेट अभावमा मर्मत हुन सकेको छैन । मर्मतका लागि जल तथा मौसम विज्ञान विभागले चार पटकसम्म सूचना आह्वान गर्दा सेवा प्रवाह गर्ने कुनै पनि कम्पनीले रुचि नदेखाएको बताइएको छ तर पाँचौँ पटकमा भने राडार मर्मतका लागि संयुक्त राज्य अमेरिकाको इइसी परामर्शदाताले मात्र रुचि देखाएपछि हाल लागत प्रस्ताव माग गरिएको छ ।

विभागका वरिष्ठ मौसमविद् तथा जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका प्रमुख निराजन सापकोटाका अनुसार सरकारले मर्मतका लागि न्यून बजेट दिएको भए पनि परामर्शदातासँग प्रस्ताव माग गर्न लागिएको छ । यस्तै स्थानीय स्तरमा गर्ने अन्य मर्मतको काम भने बल्ल सुरु भएको छ । दुई वर्षअघि राडार बिग्रिए पनि मर्मतका लागि बजेट नभएपछि केही गर्न नसकिएको तर अहिले भने मर्मत गर्ने तयारी थालिएको जानकारी उहाँले दिनुभयो । विभागले आगामी भदौ अन्तिमसम्म राडर सञ्चालनमा ल्याउने दाबी आयोजना प्रमुख सापकोटाले गर्नुभयो ।

मौसमी राडार विश्व बैङ्कले करिब १८ करोड रुपियाँको लागतमा निर्माण गरिदिएको हो । निर्माणको पाँच वर्षसम्म राडार राम्रोसँग चलेको थियो । पाँच वर्षभित्र बिग्रेमा निर्माण कम्पनीले नै बेहोर्नुपर्ने प्रावधान रहेको थियो तर छैटौँ वर्षमा चट्याङ परेपछि राडार ठप्प भएको थियो ।

बजेटको अभाव, मर्मतका लागि दक्ष जनशक्ति नहुनु, सुर्खेतको विद्युत्को लो भोल्टेज, बेला बेलामा चट्याङ परिरहनु, इन्धन खर्च अभावलगायतका कारणले बिग्रेको राडार समयमै मर्मत गर्न नसकिएको विभागले जनाएको छ । गत वैशाख १८ गते विभागका निर्माण आयोजना प्रमुख सापकोटाको टोलीले सुर्खेत आएर मौसमी राडारको अध्ययन गरेको थियो । त्यसपछि अहिले चट्याङबाट सुरक्षित बनाउने सामान्य कामको थालनी भइरहेको जानकारी दिँदै उहाँले मर्मत कम्पनीले काम गरेमा आगामी भदौ अन्तिमसम्ममा सञ्चालनमा ल्याइने तयारी भइरहेको बताउनुभयो ।

एक दिनको तत्काल मौसम पूर्वनुमानसहितको सूचना दिने यस्ता राडार नेपालमा तीन वटा मात्र छन् । सुर्खेतको राडारले प्युठानदेखि पश्चिम क्षेत्रको पूर्वानुमान गर्दछ । अरू दुई वटा राडर पाल्पा र उदयपुरमा रहेका छन् ।

तपाईको प्रतिक्रिया