काठमाडौं । प्रधानमन्त्री ले जनतालाई राम्रो सुविधा दिएर मात्र संघीयता बलियो हुने बताएका छन् । त्यसका लागि सबैले सकारात्मक पहल लिन पनि उनले आह्वान गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था फैलाउने कोशिस भइरहेकाले सेवा प्रवाहमा सुधार ल्याउँदै तीनै तहका सरकारलाई बलियो बनाउनुपर्ने बताए ।


उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ। यहाँ संघीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोशिसमा छन्। त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ। जनतालाई राम्रो डेलिभरि दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ।’
प्रधानमन्त्री प्रचण्डले संघीय निजामती सेवा ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको जानकारी पनि गराए । यी सम्पन्न गरी कार्यान्वयन भएपछि संघीयतामा प्रश्न उठाउनेहरु कमजोर हुने उनको भनाइ छ ।

नेपाल कर्म । २५ जेष्ठ २०८१, शुक्रबार १३:०८