सुर्खेत । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेटको विरोध गरेका छन् । उनले नीति तथा कार्यक्रमसँग मेल खाने बजेट नल्याइएको र अर्थमन्त्री प्रकाशशरण महतले चलाखी गरी बजेट ल्याएको आरोप लगाएका हुन् ।
सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभाको आइतबारको बैठकको छलफलमा सहभागी हुँदै कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका सांसद शाहीले मन्त्री र ठूला नेताकेन्द्रित योजना आएको बताए । ‘यो बजेट पनि संघीयताको मूलमर्ममा केन्द्रित नभएर ल्याइयो । मन्त्री भएकै ठाउँमा बजेट ल्याउने हो भने ठूलो समस्या सिर्जना गर्छ,’ उनले भने, ‘सांसद सबैलाई सायद यो बठ्याँइ होला अर्थमन्त्रीको, यो बजेटलाई पास होस्, सर्वसम्मति होस् भन्ने हिसाबले पाँच करोड छुट्याइएको छ ।’

मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा अर्बौंका योजना लगेको र बजेट पास गर्नका लागि सांसदहरूलाई पाँच करोड छुट्याइएको सांसद शाहीको भनाइ थियो । ‘अहिले मन्त्रीहरू अर्बका भएका छन् । यो संसद् भवनभित्र बसेका सबै माननीयहरू ५ करोडका बनाउनुभएको छ । सांसदहरूले पाँच करोड पैसा आफ्नो निर्वाचतन क्षेत्रमा बाँड्दै हुनुहुन्छ । यो न्यायिक हुँदैन,’ उनले भने ।


नेपाल कर्म । २८ जेष्ठ २०८०, आईतवार १४:४७