सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिकामा अझैपनि महिनावारी हुँदा छाउ गोठमा बस्ने चलन छ। महिनावारी भएको समयमा दुध, दही खाना दिनुहुन्न भन्ने मानसिकता पनि कायमै छ। उक्त समयमा गाई भैंसीको दुध दिँदा कुल देवता रिसाउछन् र दुध दिन छोड्छ भन्ने मान्यता रहेको छ।

रुढिवादी परम्पराको अन्त्य नहुँदा नगरपालिमा छाउपडी प्रथाको जालो घेरेको छ। पञ्चपुरी नगरपालिका महिलाहरू महिनावारी हुँदा छाउगोठमा राख्नु त्यहाँको परम्परा जस्तै बनेको छ। त्यहीँ परिवेश समाजको यर्थात उदाहरण हुन् बसन्ता वि.क। उमेरले ४९ वर्षकी उनको जन्म दैलेख जिल्लाको चामुण्डाविन्द्रासैनि नगरपालिका छडेखोलामा भएको छ।

२०४७ सालमा विवाह गरेर बावियाचौरमा आएकी बसन्ता ६ सन्तानकी आमा छन्। पञ्चपुरी–५ बाबियाचौर चिसापानि टोलमा उनको घर छ। अहिले उनको घरपरिवारमा श्रीमान दुई छोरी, एक छोरा, भदैनी र तीन छोरीको छोरा र आफु गरि नौ जनाको परिवार रहेको छ।
बसन्ताको घरमा पनि महिनावारी हुँदा पाँच दिनसम्म घर बाहिरको सानो खुल्ला (टहरो)मा बस्नु पर्ने बाध्यता छ। ‘समाजमा जरा गाडेर बसेको छाउपडी प्रथा मान्नु पर्ने बाध्यता छ। आफुले भोगेका पिडालाई सहेर पनि संस्कार मान्नुपर्ने हुन्छ। हामी आफ्नो संस्कारबाट टाँढिन सक्दैनौँ।’
बसन्ताले यती मात्रै होइन् परिवारका कोही सदस्य महिनावारी हुँदा घर बाहिर पाँच दिन सम्म राख्ने, दुग्धजन्य पदार्थ जस्ता खाने कुरा खान नदिने, दिएको खण्डमा कुल देवता बिग्रिने र घरपरिवार राम्रो नहुने बताइन्।


बसन्ताले भनिन्, ‘म एक दिन सालकोट अस्पतालमा आफ्नो उपचार गर्न गएको थिएँ। त्यहाँ कुनै बाल अधिकार समूहले छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिरहेको थियो। मैले त्यो नाटक पुरा हेरे र आखाँबाट आसु पनि आयो। नाटकमा यहीँ छाउपडी प्रथा विरुद्धको सचेतना मूलक सन्देश प्रवाह गरिएको थियो।’
बसन्ताले उक्त नाटक हेरिसकेपछि छाउपडी प्रथाको भ्रमबाट मुक्त भएको र त्यहीँ दिनबाट छाउडीका सबै रुढिवादी परम्परालाई मान्न छोडेको बताइन्। उनले भनिन् ‘नाटक हेरिसकेपछि श्रीमानलाई सबै कुरा बताए। तर, उहाँले मान्नु भएको थिएन्। मैले पहिला घर परिवारका सदस्यहरु महनिावारी हुँदा बारेका सबै खाने कुरा अहिले खान दिएँ। हालसम्म केही भएको छैन्। कतै कुल देवता रिसाउछन की भन्ने थियो। त्यो त मनको डर मात्र रहेछ।’

उक्त नाटक हेरेपछि आफुले विगतदेखि नै मान्दै आएको भ्रमबाट मुक्त बनाएको खुसी व्यक्त गर्दै नाटक देखाउने बाल अधिकार समूहलाई धन्यवाद दिएकी छन्।

नेपाल कर्म । १० असार २०८०, आईतवार १६:०८