काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । आज प्रतिनिधिसभामा यस विधेयकका विषमा छलफल भएको थियो ।
![]()
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा र वित्तीय जोखिमसमेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न विधेयक ल्याउनुपरेको मन्त्री वर्षमान पुनले बताए । यस्तै पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउनको लागि बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताए ।


उनले नेपालको संविधान तथा प्रचलित कानुनमा उल्लेखित तीनै तहको सरकारको वित्तीय अधिकार क्षेत्रको व्यवस्थित कार्यान्वयन गर्न, हालैका दिनमा प्रदेश सरकारले पनि प्रदेश बैंकहरू खोल्न शुरु गरिसकेका सन्दर्भमा विधेयकको आवश्यकता औँल्याए ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा सांसदहरू डा चन्दा कार्की भण्डारी, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, प्रेम सुवाल, नारायणी शर्मा, दुर्गा राई, सरिता भुसाल, सोविता गौतम, निशा डाँगी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी र नागिना यादवले भाग लिई आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

नेपाल कर्म । २४ जेष्ठ २०८१, बिहीबार १६:३८