सुर्खेत । कर्णालीमा श्रम खोज्ने र दिनेका लागि श्रमाधान मेला हुने भएको छ । शुक्रबार (भोली) बाट प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा हुने श्रमाधान रोजगार मेलाको तयारी पुरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मेलाको तयारीका विषयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव टिकाराम ढकालले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए । ‘मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक तथा निजि साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौ,’ उनले भने ।


त्यस्तै, नेपाल चेम्बर अर्फ कमर्स कर्णली प्रदेश अध्यक्ष चिन्तामणी न्यौपानेले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए । ‘बर्षो देखि हामी हरेक कुराको लागि अन्य मुलुकमा भर पर्नुपर्ने अवस्था छ । तर, अबका दिनमा नेपालमा नै गरी खाने वातावरण सृजना गर्न, आन्तरिक रोजगारी सृजना गर्न, यहाँको रोजगारीको अवस्था बुझन, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको बिषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले सहयोग गर्नेमा म विश्वस्त छु,’ उनले भने । श्रम कार्यलय सुर्खेतका कार्यालय प्रमुख श्रीसमशेर रानाले मेलाको तयारी पुरा भएको बताए । हालसम्म मेलामा ४० वटा निजि क्षेत्रका स्टलहरु रहने छन् । जसमध्ये ३४ वटा स्टलहरु बुक भै सकेको उनले बताए । बेलुकासम्ममा अन्य स्टलहरु पनि बुक हुने अपेक्षा रहेको उनले बताए । मेला विहान १० बजेदेखि साझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलाको रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्दघटन गर्नेछन् । १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २÷२ दिन सञ्चालन भै रहेको छ । कर्णालीमा २५ र २६ गते सञ्चालन हुनेछ ।


नेपाल कर्म । २४ जेष्ठ २०८१, बिहीबार १३:४६