काठमाडौँ । उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनले सबैभन्दा बढी गर्भवती महिला र बालबालिकाहरूमा असर परेको बताएकी छन ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर गर्भवती महिला, बालबालिका र वृद्ध वृद्धमा पर्ने गरेको भन्दै सरकारले आवश्यक चासो र असर न्यूनीकरणका लागि पहल गनु पर्नेमा जोड दिइन। उहाँले जलवायु परिवर्तनको असर सहरमा बस्नेहरूलाई खासै जानकारी नभए पनि हिमाल र पहाडी इलाकामा बस्ने मानिसहरूलाई दिन प्रतिदिन समस्या बढ्दै गइरहेको उल्लेख गरिन ।

उहाँले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लँदै गएको, हिउँ नपर्ने समस्या बढेको र बालीहरू उत्पादनमा ह्रास आइरहेको जस्ता समस्या बढेको बताउनुभयो । उहाँले तराईमा पनि विभिन्न रोगहरू भित्रिने, बाढी आउने र बाढीबाट हुने समस्याहरू विकराल बन्दै गएको भन्दै सरकारले समयमा नै विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । उनले जलवायु परिवर्तनबाट परेका असरको न्यूनीकरणमा सबै एक भएर लाग्नुपर्ने बताइन ।

उपसभामुख रानाले भनिन्, ‘शहरमा बस्ने मानिसलाई त्यत्ति थाहा हुँदैन– जलवायु परिवर्तनका कारण के, कस्तो असर भइरहेको छ। हिमाल र पहाडका विकट ठाउँमा बस्नेहरूलाई यसले ठूलो असर पारेको छ। बालीहरू पहिलाको जस्तो फलाउन नसक्ने समस्या उहाँहरूले राख्नुभएको थियो। जलवायु परिवर्तनले गर्दा अहिले त्यहाँ उत्पादन हुन सक्दैन। जलवायु परिवर्तनले गर्दा विशेष गरी महिला, वृद्धवृद्धा र बालबालिकामा बढी असर परेको हुन्छ। जलवायु परिवर्तनका कुरा कसरी छिटो व्यवस्थापन गर्ने भन्नेमा हामीले विशेष ध्यान दिनुपर्छ।’
उपसभामुख रानाले नेपालले यस वर्ष धेरै ऋण लिएको उल्लेख गर्दै नेपालमै भएका साधन स्रोत पहिचान गरी व्यवस्थापन गर्नसके ऋण लिइरहनुपर्ने समस्या नहुने जिकिर गरिन्। उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आजदेखि नै सबै मिलेर लाग्नुको विकल्प नरहेको बताइन्।
उनले नेपालमा भएका प्राकृतिक स्रोत र साधनलाई राम्रोसँग व्यवस्थित गरेर लैजान सके समृद्ध देश बनाउन सकिने बताइन्।

नेपाल कर्म । २२ जेष्ठ २०८१, मंगलवार १४:१७