भारतीय किसानले राप्ती बगरमा फलाए १ करोडको खरबुजा, जग्गाधनी रमिते

नेपालगञ्जबाट ११ किलोमिटर पूर्व डुडुवा गाउँपालिकामा पर्ने सिधनियाँघाटमा नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकाका केही भागलाई जिल्ला सदरमुकामसँग जोड्ने राप्तीनदीको पुल छ । पुलबाट दक्षीणपट्टि आँखाले नभ्याउने गरी नदीले बालुवा थुपारेर बनाएको बलौटे बगर देखिन्छ । पहिले बाँझो रहने यो बगर यस वर्ष हरियो छ । दिनभरि बगरमा मानिसहरू खनीखोस्री गरिरहेका देखिन्छन् ।



अलि नियालेर हेर्ने हो भने बालुवामाथि गाढा हरिया डल्ला देखिन्छन् । त्यसरी बगरमा लटरम्म तरबुजा फलाउनेहरू नेपाली किसान नभई नेपालगञ्जबाट ६ सय किलोमिटर दक्षिण भारतको बागपतबाट आएका शाहिद अली र उनका गाउँलेहरू हुन् ।

यसअघि बाँझै रहने करिब ५० हेक्टर क्षेत्रफलको यो बलौटे जमिनमा खेती गरेर हरियो मात्र पारिएको छैन, राप्तीनदी किनारमै रहेको अर्को ५०० हेक्टर जमिनमा बगरखेती गर्ने सम्भावनाको ढोका खोलिदिएका छन् । तैपनि, नेपाली किसान बगरखेतीतर्फ आकर्षित भएको देखिँदैन, न त स्थानीय सरकारले नै प्रोत्साहन गरेका छन् ।

राप्ती नदीले वर्षे बाढीबाट धार परिवर्तन गर्ने, कटान गर्ने र खेतीयोग्य जमिनमा बालुवा थुपार्दै आएको छ । करिब तीन दशकयता यो क्रम तीव्र भएको स्थानीयहरू बताउँछन् । यसको कारण भारतले बाँकेको सीमाक्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले नदीको निकास थुन्नुलाई मानिएको छ । नेपाल–भारत सीमासँगै भारतले राप्ती नदीमा सन् १९८५ मा लक्ष्मणपुर बाँध र सन् २००० मा सीमाक्षेत्रमा २२ दशमलव ५ किलोमिटर लामो कलकलवा तटबन्ध निर्माण गरेयता नै खेतीयोग्य जमिनमा डुबान, कटान र बालुवा थुप्रिने क्रम तीव्र हुन थालेको हो । बाँकेका डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका राप्तीनदी किनार क्षेत्र यसबाट प्रभावित छ ।

स्थानीय किसानले बगर भनेर छाडेको जग्गामा भारतबाट आएका किसानहरूले व्यावसायिक र व्यवस्थित खेतीको अभ्यास गरिरहेका छन् । उनीहरूले यो जमिन निःशुल्क प्रयोग गर्न पाएका छन् ।

बगरमा खेती गरिरहेको ठाउँबाट करिब ५ सय मिटरको दूरीमा छ– डुडुवा गाउँपालिका वडा नम्बर ३, हल्कारापुर्वा गाउँ । हल्कारापुर्वाका बढैलाल यादवको परिवारको करिब १० बिघा जमिन त्यही राप्ती नदीको बलौटे बगरमा पर्छ, जहाँ अहिले शाहिदसहित भारतीय किसानहरूले खेती गरिरहेका छन् ।

करिब दुई दशकअघि आएको बाढीले बगर बनाएको उक्त जमिनमा पनि राम्रो फाइदा हुने खेती हुन्छ भन्ने आफूहरूलाई थाहा नभएको बढैलाल बताउँछन् । अरु केही जमिनमा कृषि गरिरहेका र साथमा भैँसीपालन पनि गरिरहेका उनी भन्छन्, ‘यस्तो बगरमा पनि लगानी गरेर खेती गर्न लागेको देख्दा फाइदा लिन जान्नुपर्ने रहेछ भन्ने लागेको छ ।’

यो वर्ष उनले निस्शुल्क बगरखेती गर्न दिए । उक्त जमिनमा बगरखेती हुन्छ कि हुँदैन हेर्न चाहेकाले भाडा नलिएको उनी बताउँछन् । बढैलालले भने, ‘जमिन त्यसै खाली छ । हामीले केही गर्न सक्ने पनि होइन । उनीहरूले हामी खेती गर्छौं भनेपछि हामीलाई पनि केही सिक्न मिल्ला भन्ने लाग्यो ।’

स्थानीय जग्गाधनीहरू बगरमा तरबुजा फलाउने प्रविधि र लगानी दुवै नभएको बताउँछन् । सरकारले सहयोग गरे आफूहरू पनि बगरमा खेती गर्न सक्ने उनीहरूको भनाइ छ ।

स्थानीय सरकारहरूले केही बजेट बगरखेतीमा सघाउनका लागि छुट्याएका पनि छन् । तर, यस्ता सबै कार्यक्रम तथ्यांक र तयारीबिनै तय गरिएको स्वीकार्छन् कृषि ज्ञान केन्द्र बाँकेका बागवानी विकास अधिकृत रामप्रकाश यादव । उनले भने, ‘कुन पालिकामा कति बगर जमिन छ भन्ने तथ्यांक नै हामीसँग छैन ।’

यादवका अनुसार, हाल भारतीयसमेतले खेती गरेको क्षेत्रलाई जोड्ने हो भने करिब ७० हेक्टर जमिनमा यस वर्ष बगरखेती हुँदै छ । ‘करिब १ सय हेक्टरमा बगरखेती गर्न सक्ने हो भने बाँकेको खरबुजाको माग धानिन्छ र छिमेकी जिल्लामा पनि निर्यात गर्न सक्छौँ,’ उनी भन्छन् ।

सिधनियाँबाट करिब ९ किलोटिर दक्षिण राप्तीनदी किनारमै पर्ने बेतहनीको दासपुर्वाका किसुनलाल मौर्य पनि आफ्नो करिब २० बिघा जमिन बलौटे बगरमा परिणत भएको बताउँछन् । ‘यस क्षेत्रका धेरै किसानको सयौँ बिघा जमिन नदीले बगाएर बलौटे बगर बनाइदिएको छ,’ उनले भने । सिधनियाँघाटमा सुरु भएको बगरखेती मौर्यको गाउँसम्म फैलिएको छ ।

मौर्य आफैँ स्थानीय एक कृषक सहकारीका अध्यक्ष छन् । तर, उनलाई व्यावसायिक बगरखेती गर्ने र बगर बनेको जमिन आफैँले सदुपयोग गर्नेतिर ध्यान गएको छैन । ‘हामीसँग त्यति क्षमता छैन । लगानी पनि छैन । त्यस्तो अनुभव र सीप पनि छैन । कुन बाली कुन महिनामा लगाउने, बेमौसमीमा फाइदा हुन्छ कि मौसमीमा फाइदा हुन्छ, त्यो पनि आइडिया छैन । आइडिया भएकासँग पनि लगानी छैन,’ उनी सुनाउँछन् ।

सिधनियाँ र दासपुर्वाजस्तै बाँकेको डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा ५ सय हेक्टरभन्दा बढी जमिन बलौटे बगर रहेको सरकारी अधिकारीहरू आकलन गर्छन् । जिल्लामा कति जमिन बगर छ भन्ने विषयमा हालसम्म आधिकारिक तथ्यांक नै संकलन गरिएको छैन । यस्ता बलौटे बगरको जमिनको लालपुर्जा प्रायः सँग छ, अनि नियमित जग्गाधनीहरू मालपोत तिरिरहेका पनि छन् । कृषि ज्ञान केन्द्र बाँकेको आर्थिक वर्ष २०७९र८० को तथ्यांकअनुसार बगरमा हुने बालीहरू खरबुुजा १५ हेक्टर जमिनमा लगाइएको थियो भने तिरैया २१ हेक्टर जमिनमा लगाइएको थियो, जसबाट २८० मेट्रिकटन उत्पादन भएको तथ्यांक छ ।

बगरखेती गरेका नेपाली किसानहरू आफूहरूले मल, बिउ र सिँचाइकै अभाव भोगेको बताउँछन् । डुडुवाको दासपुर्वाका राधेश्याम मौर्यले करिब ५ बिघा जमिन भाडामा लिएर परबर र तरबुजा खेती गरिरहेका छन् । तर, उनलाई सिँचाइको समस्या छ । छेउमा एक जना किसानको बोरिङबाट प्रतिघण्टा ४ सय रुपैयाँ तिरेर सिँचाइ गर्नुपरिरहेको उनले सुनाए । ‘यहाँ मल पनि पाइँदैन । भारतबाट ल्याउनुपर्छ,’ उनले भने । उनले बगरखेतीमा अन्य खेतीभन्दा बढी मिहिनेत पनि लाग्ने अनुभव सुनाए ।

नेपाली किसानले गरिरहेको बगरखेती र त्यहीँ आएर भारतीयले गर्ने खेतीको विधिमा फरक छ । शाहिदका अनुसार, भारतीय प्रविधिमा खर्च पनि बढी छ । करिब ५० हेक्टर जमिनमा १५ परिवारको ७० लाखभन्दा बढी लगानी बेर्ना रोप्दाको अवस्थामा नै लागेको उनले दाबी गरे । अहिले तरबुजा बिक्री गरिरहेका उनी भन्छन्, ‘फाइदाको हिसाब त सबै माल बिक्री भइसकेपछि मात्रै हुन्छ । तर, हामी घाटामा जाँदैनौँ । करिब १ करोडको कारोबार त पक्कै हुन्छ ।’

किसानहरूले गर्मीमा चल्ने तातो हावा ‘लु’बाट जोगाउन र हावाले बालुवा उडाएर बोटहरू नढाकोस् भनेर खरको बार लगाएका छन् । अनि मेसिनले खाल्डो बनाएर गहिरो खाडल बनाएर सिँचाइको प्रबन्ध गरे । मेसिन लगाएर खाल्डो खन्नका लागि लगानी धेरै लाग्ने भएकाले नेपाली किसानहरूले यस्तो प्रविधि अपनाउन सकेका छैनन् ।

आफूहरूले रासायनिक मलसँगै कुखुराको मलसमेत पर्याप्त मात्रामा प्रयोग गरेको शाहिद बताउँछन् । अनि ठाउँठाउँमा डिजेल मोटर जडान गरेर सिँचाइको व्यवस्था गरिएको छ ।

भारतीयहरूले गरिरहेको मिहिनेतलाई नजिकबाट नियालिरहेका डुडुवा– ४, सिधनियाँका चन्द्रशेखर गुप्ता किसानहरूलाई बगरखेतीमा प्रोत्साहन गर्न सिँचाइ र पशु चौपाया छाडा छोड्न नपाइने व्यवस्था गर्नुपर्ने बताउँछन् । बगर जमिन भएको क्षेत्र पर्ने स्थानीय सरकारले केही वर्षको नीति तथा कार्यक्रममा बगरखेती प्रोत्साहन गर्ने बुँदा उल्लेख गरेका छन् । तर, त्यसरी छुट्याइएको बजेट सबैलाई बाँड्दा कनिका छरेजस्तो भइरहेको किसानहरू बताउँछन् ।

डुडुवा गाउँपालिकाले यस वर्ष ४ लाख रुपैयाँ बजेट छुट्याएको छ, जसमा एकदिने तालिम, बिउ, मल र सामग्रीमा अनुदान दिने योजना छ । नरैनापुर गाउँपालिकाले एक वर्षमा डेढ लाख बजेट यस कार्यक्रमका लागि छुट्याएको छ । गाउँपालिकामा करिब ५० जनाभन्दा बढी बगरखेतीमा इच्छुक किसान रहेको गाउँपालिकाको कृषि शाखाका प्रमुख सदन भण्डारी बताउँछन् । यस कार्यक्रममा एकदिने प्रशिक्षण, बिउ, मल र सामग्रीमा अनुदान सुविधा समावेश छन् ।

राप्तीसोनारी गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ लाख बजेट छुट्याएको कृषि शाखा प्रमुख चन्द्राकुमारी शाहीले जानकारी दिइन् । उक्त बजेटबाट बिउबीजनमा ७५, सामग्रीमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । गाउँपालिकामा कृषक समूहमार्फत उक्त अनुदान दिने गरिएको शाहीले बताइन् ।

यता प्रदेश सरकारमातहतको कृषि ज्ञान केन्द्र बाँकेसँग यस वर्ष ७ लाखको बगरखेती प्रवर्द्धन कार्यक्रम छ । कम्तीमा ५ कट्ठामा खेती गर्ने किसानहरूलाई बोरिङ, मोटर, स्प्रे ट्यांकी पम्पसेट, क्यारेटलगायतका साधनमा अनुदानका लागि यो बजेट खर्च गरेका छन् । आवेदन दिने किसानलाई दामासाहीले बाँड्ने भनिएको छ ।

डुडुवा गाउँपालिकाको कृषि शाखाका प्रमुख सुशीलकुमार शर्मा बगरखेतीमा अन्य खेतीभन्दा बढी मिहिनेत पर्ने भएकाले पनि किसानहरू बगरखेती गर्न अनिच्छुक रहेको सुनाउँछन् । उनले भने, ‘हामीले छुट्याएको अनुदानका लागि पनि निकै कम मात्रै आवेदन आउने गर्छन् ।’

शाहिदले देखेको सम्भावना

भारतमा पनि बगरखेती गर्दै आएका शाहिद एक वर्षअघि नेपाल आएको बेला एक आफन्तबाट नदी किनारका जग्गा बाँझै रहेको थाहा पाएका थिए । ‘मेरो एक जना आफन्तको सहयोगमा यहाँका किसानसँग कुरा गरेँ । हाललाई जमिनको भाडा नलिने कुरामा किसानहरू सहमत भएपछि लगानी गर्न तम्सिएको हुँ,’ उनले भने ।

त्यसपछि शाहिदले यहाँको माटो परीक्षण गरे र जग्गामा प्रशस्त मात्रामा फलाम रहेको पत्ता लगाए, जुन तरबुजारखरबुजालगायतका बगरखेतीका लागि उपयुक्त माटो हो । भारतमा बगरखेती गर्दै आएका उनले नेपालमा बगरमा उत्पादन हुने तरकारी र फलफूलको पर्याप्त उत्पादन नभइरहेको थाहा पाएर खेती गर्न सुरु गरेको बताउँछन् ।

उनका अनुसार, अहिले करिब १५ भारतीय परिवार यहाँ आएर बगरखेती गरेका छन् । उनीहरूले बलौटे जग्गामा तरबुजा, परबर, काँक्रा, फर्सी, लौका, तिरैया फलाएका छन् । शाहिद सुनाउँछन्, ‘पहिलो वर्ष उत्पादन सोचेभन्दा राम्रो भएको छ । तर, व्यापारीहरूले तरबुजा भारतबाट ल्याइदिँदा बजारमा हामीले सोचेअनुसारको मूल्य भने पाएनौँ । तैपनि, हामी नाफामै छौँ ।’

तपाईको प्रतिक्रिया