काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गृहमन्त्री रवि लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउन सुझाव दिएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा गृहमन्त्रीको नाम राख्न नसकिए पनि उनी छानविनको दायराबाट बाहिर नरहेको बताए ।


थापाले भने, ‘यो छानबिन समितिले सहकारीबाट गोरखा मिडियामा गएको रकमबारे छानबिन गर्नेछ । एक रूपैयाँ गए पनि एक करोड गए पनि त्यो गैरकानूनी नै हो । गोरखा मिडियाको मालिका जीबी हुन् कि छबि हुन् कि रवि हुन् । जो भए पनि समितिले बोलाउँछ र कानूनबमोजिम कारबाहीको सिफारिस पनि गर्छ । समितिका साथीहरूबाट यही भूमिकाको अपेक्षा हामीले गरेका छौं ।’
महामन्त्री थापाले सहकारी ठगको पक्षमा उभिएका महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्मलाई पनि बयानका लागि समितिले बोलाउनुपर्ने बताए ।

नेपाल कर्म । २० जेष्ठ २०८१, आईतवार १२:४२