काठमाडौं । आज विश्व दूध दिवस मनाइँदैछ। विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २००१ देखि जुन १ तारिखलाई विश्व दूध दिवस मनाउन सुरु गरेको हो। नेपालले पनि सन् २०११ देखि यो दिवस मनाउन थालेको हो ।

दिवसका अवसरमा केन्द्रीय स्तरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्व र विभिन्न सरोकारावाला निकायको सहयोगमा बालबालिका तथा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई दुग्धपान, दूधको सेवनसम्बन्धी उपत्यकाव्यापी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र दुग्ध क्षेत्रमा योगदान पुर्याउने विशिष्ठ व्यक्तिलाई सम्मान गर्न कार्यक्रम हुँदैछ।


सातै प्रदेशमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघलगायतले विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको नेपाल डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए।
उनका अनुसार दूधको उत्पादन वार्षिक ४।७९ प्रतिशतले बढ्दै गएको छ । आर्थिक वर्ष २०७८र०९ मा देशभर २५ लाख ६६ हजार ६१४ मेट्रिकटन दूध उत्पादन भएको एसोसिएसनले जनाएको छ।

नेपाल कर्म । १९ जेष्ठ २०८१, शनिबार १३:३८