गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ ।अत्यधिक गर्मी बढेपछि उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा बिदा दिएको छ ।

अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो ।


उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ । नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ । केही दिनअघि नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियससम्म मापन भएको थियो । गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

नेपाल कर्म । १९ जेष्ठ २०८१, शनिबार ११:०७