सुर्खेत । कर्णालीमा पनि नेवा: नृत्य तथा धिमे बाजाकाे संरक्षण गर्नमा नेवार समुदाय अग्रसर भएका छन् । नेवा: कला सँस्कृतिको उत्थान र संस्कृति जाेगाइराख्न कर्णालीका नेवार समुदायहरू अग्रसर बनेका हुन् ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको सहयोग एवं नेवा: देय् दबू सुर्खेतले आयोजना गरेर २० दिने नेवा: नृत्य तथा धिमे बाजा प्रशिक्षण समेत दिएकाे छ । समापन कार्यक्रममा बाेल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरलले देशको कला सँस्कृति बचाई राख्न नेवार समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।
काठमाडौं उपत्यका बाहिर पनि नेवार जातिहरु आफ्नो भाषा कला सँस्कृति बचाउन लागि परेको उल्लेख मन्त्री पाेखरेलकाे छ । “कर्णालीमा पनि नेवा: कला सँस्कृतिको उत्थानकालागि सक्दो सहयोग गर्ने हरदम तयार रहनेछु”, उनकाे भनाइ छ ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका शाखा अधिकृत झलकप्रसाद कोइरालाले निर्देशनालयले दिएको सिमित बजेटमा पनि महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेकोमा खुशी व्यक्त गरेका छन ।
वीरेन्द्रनगर नगरपालिका ७ नं. वडा सदस्य यामनारायण आचार्यले कला सँस्कृतिको जगेर्ना गर्न वडा लागि पर्ने बताए । कार्यक्रममा प्रशिक्षक सुदन मान मुनिकारले २० दिनमा सुर्खेतका नेवा: प्रशिक्षार्थीहरुले एकदमै लगाव दिएर प्रशिक्षण लिएको र प्रशिक्षार्थीको लगाव देखेर आफूमा गर्वको महशुस भएको बताए ।
कार्यक्रममा नि.वर्तमान वडा सुरेश मानन्धर, नेवा: देय् दबूका केन्द्रीय उपाध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका का.वा. अध्यक्ष अशोक राजी, आदिवासी जनजाति महिला महासंघ सुर्खेतका अध्यक्ष वासना गुरुङ्गले आ-आफ्नो भनाई राखेका थिए । प्रशिक्षार्थीहरुले कुमारी तथा लाँखे नृत्य र धिमे बाजा प्रस्तुत गरेका थिए ।

नेपाल कर्म । २८ जेष्ठ २०८०, आईतवार ०७:१७