सुर्खेत । संघीय सरकारले मंगलबार १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको बजेटमा यो पटक पनि कर्णालीले उच्च प्राथमिकता दिइएको छ । वर्षैपिच्छे बजेटमा परिहने तर कार्यान्वयन हुन नसकेको सुर्खेत विमानस्थल विस्तारदेखि कृषि, जलविद्युत, सडक र पर्यटन क्षेत्रलाई बजेटले राम्रै स्थान दिएको हो ।

कृषितर्फ मध्य पहाडमा राष्ट्रिय फल सुन्तला तथा हिमाल र उच्च पहाडमा स्याउ कार्यक्रम बजेटले समेटेको छ । यस्तै, गाई भैंसी पालन स्रोत केन्द्रका रुपका विकास गरिने कार्यक्रम पनि बजेटमा समावेश छ ।

४१७ मेघाजट नलसिङगाड जलाशययुक्त जलविद्युत आयोजना निर्माण आरम्भ गर्ने र कर्णाली–चिसापानी जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ्ग डिजाइन शुरु गरिने अर्थ मन्त्री वर्षमान पुनले बताए ।
भेरी करिडोर ४०० केभी प्रशारण लाइन निर्माण पनि यसै वर्षबाट शुरु गरिने बजेटमा उल्लेख छ । चुरे, पहाडी र हिमाली क्षेत्रका प्रमुख गन्तव्यस्थलमा पर्यापर्यटन प्रवर्धन कार्यक्रम लागु र कर्णालीलाई जटिबुटी पर्यटन हव बनाइने कार्यक्रम समावेश छ ।
सल्यान–रुकुमको शारदा नदी आसपासमा कृषि कोरिडोर तथा जुम्लाको हिमा र तीला नदी आसपासमा मार्सी धान कोरिडोरको रुपमा विकास गरिनेछ । भुकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणका बजेट विनियोजन गरिएको छ । एक पालिका एक डाउनटाउन, स्थानीय सडक सुधार कार्यक्रम र
कर्णाली प्रदेशको पूर्वाधार विकासका लागि एक अर्ब ५० करोड बजेट छुट्टयाइएको छ ।

आधा घण्टा हिँडाइको दूरीभित्र तरितराउको सुविधा पु¥याउन झोलुङ्गे पुल निर्माण र कृषि र वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम लागु गरिने अर्थमन्त्री पुनले बताए ।
राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउदेश्यीयको हेडवक्र्स र विद्युत गृहको निर्माणका लागि दुई अर्ब तथा एकीकृत कर्णाली सिँचाई विकास आयोजनाका लागि ८२ करोड बजेट विनियोजन गरिएको छ ।
कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा दिवा खाजाको रकम वृद्धि गरिएको छ । सुर्खेत मेडिकल कलेज स्थापना कार्य यथावत राख्दै निर्माणलाई तिव्रता दिइने उल्लेख छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५०० शैयामा स्तरोन्नती गरिनेछ ।
कर्णाली करिडोर निर्माणमा गतिदिँदै उक्त सडकमा पर्ने पाँच पुल निर्माण र ५० किलोमिटर सडक स्तरोन्नति गरिने बजेटमा समावेश छ । मदन भण्डारी राजमार्गको बाँकी काम सक्न ३ अर्ब ६० करोड तथा रत्न र कर्णाली राजमार्ग, भेरी कोरिडोर विस्तार र स्तरोन्नति गरिने आयोजना पनि बजेटले समेटेको छ ।
भेरी र कर्णाली सडक त्रिदेशी योजना हुन् । बजेटमा डोल्पाको धो उपत्यका र हुम्लाको लिमी उपत्यकालाई नयाँ नमूना वस्ती निर्माण गर्नेगरी समावेश गरिएको छ ।

सुशील खड्का । १५ जेष्ठ २०८१, मंगलवार १८:०९