कर्णालीका १० जिल्लामा सिँचाइ गर्न ८२ करोड रुपैयाँ बजेट विनियोजन

सुर्खेत । कर्णालीका १० जिल्लामा एकीकृत कर्णाली सिँचाइ आयोजनाका लागि सरकारले ८२ करोड रुपैयाँ विनियोजन गरेको छ। मंगलवार अर्थमन्त्री वर्षमान पुनले  सङ्घीय सदनमा आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै जानकारी दिएका हुन्।



भेरी(बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका बाँकी काम गर्न २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। कृषि र वन पैदावार कार्यक्रम कर्णालीमा लागू गरिने भएको छ।

जाजरकोट, रुकुम पश्चिममा भूकम्पका कारण भत्किएका भौतिक संरचना निर्माण गर्न २१ अर्ब ६४ करोड रकम विनियोजन गरिएको छ।

जुम्लाको हिमा, तिला नदीको किनारमा मार्सी धान उत्पादन तथा विकास गर्न बजेट विनियोजन गरिएको छ।

आगामी आव ०८१/८२ को बजेट भाषणमार्फत कर्णालीमा रहेका २ जलविद्युत आयोजना निर्माण गरिने अर्थमन्त्री पुनले बताए।

उनले जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट डोल्पा र ४१७ मेगावाट जाजरकोट पनि निर्माण गरिने बताए।

कर्णाली करिडोरमा ४०० केभी प्रशारण लाइन, भेरी करिडोरमा ४०० केभी प्रशारण लाइन निर्माण गरिने अर्थमन्त्रीले घोषणा गरे। सुर्खेत र जुम्लामा सञ्चालनमा रहेका विमानस्थलको स्तरोन्नति गरिने पनि उनले बताए।

तपाईको प्रतिक्रिया